स्वास्थ्य शिविरबाट तीन हजार लाभान्वित

0
Shares

म्याग्दी, १९ पुस । म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीनहजार जनाभन्दा बढी लाभान्वित भएका छन् ।

म्याग्दी सामुदायिक विकास परियोजना लागू भएका गुर्जा, लुलाङ, मुना, मुदी र मराङ गाविसमा चार दिनसम्म सञ्चालन भएको शिविरबाट तीन हजार २०० जनाले गाउँमै स्वास्थ्य सेवा पाएका हुन् ।

गुड नेवर्स इन्टरनेसनलको आर्थिक र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा कालीगण्डकी सामुदायिक विकास मञ्चको आयोजनामा पुस १४ गते गुर्जा र मुदीबाट सुरु भएको शिविर सोमबार सकिएको हो ।

शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा दिइएको मन्च, म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार रु तीन लाख ८५ हजार मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको छ ।

जिल्ला अस्पतालका चिकित्सक बिबेक पौडेल र शिशिर अधिकारीको नेतृत्वमा रहेको १३ जना स्वास्थ्यकर्मीको दुईवटा टोलीले सात ठाउँमा शिविर सञ्चालन गरेको थियो । गुर्जा, लुलाङ, मुना, फलीयागाउँ, मुदी, खिवाङ, मराङ र आरवाङमा एक/एकदिन शिविर सञ्चालन गरिएको थियो ।

छाला, आँखा, कान र श्वासप्र्रस्वाससम्बन्धी समस्या भएका बिरामी बढी आएका शिविरमा सहभागी स्वास्थ्यकर्मीले बताएका छन् । विशेष गरेर आँखासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन भएको हो ।

भौगोलिक विकटता, आर्थिक अभावलगायतका कारणले सदरमुकाम र जिल्ला बाहिरका अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिन नसकेका सर्वसाधारणको सुविधाका लागि शिविर सञ्चालन गरिएको कदमका अध्यक्ष पौडेलले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *