फोनबाटै गर्भ परीक्षण गराउन निम्ता

108
Shares

दाङ, १५ पुस –  यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ ।

दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताए ।

गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको चार महिना, छ महिना, आठ महिना, नौ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ ।

“सुरक्षित मातृ शिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ” – रावतले भने ।

त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरेको छ । यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरेको छ ।

घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातै दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताए । चेकजाँच गर्न जाने स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य चौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।

रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रुपमा आँफै व्यवस्था गर्ने गर्छ । “यो सेवाका लागि हामीलाई कतैबाट बजेट आउँदैन स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्य चौकीको सहकार्यको खाताबाट सङ्कलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेका छौँ – रावतले भने ।

योसँगै हाल स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *