स्वास्थ्य मन्त्रालयको विदेश भ्रमण : निर्णयका आधारमा ५२० जना, पहुचका आधारमा कति कति
काठमाडौं, २७ कात्तिक – स्वास्थ्य मन्त्रालयले अवलोकन तालिम तथा गोष्टीका नाममा ५२० जना कर्मचारीलाई विदेश पठाएको छ । यद्धपी यो संख्यामा व्यक्तिलाई सिधै आउने स्पोन्सरसीप समावेश छैन् ।
पहुचवाला कर्मचारीलाई विभिन्न एनजीओ तथा आइएनजीओले सिधै इनभिटेसन लेटर पठाइ बोलाउने गर्दछ । त्यसरी विदेश जाने कर्मचारीहरुले पनि उता सरकार( मन्त्रालय)को प्रतिनिधित्व गरेको रेकर्ड हुन्छ तर यता मन्त्रालयमा त्यसको रेकर्ड हुँदैन् ।
मन्त्रालय स्रोतका अनुसार पहुँचवाला केही विशिष्ट कर्मचारीहरु दर्जनौँ पटक विदेश गएका छन् तर मन्त्रालयको रेकर्डमा त्यसको आधा पटकको पनि देखिदैन् । यसरी जानेहरुको पटक गणना गर्ने हो भने अहिलेको संख्यामा ३० प्रतिशत थपिने मन्त्रालयको कर्मचारीहरु बताउछन् ।
मन्त्रालयको रेकर्डमा केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठ एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँ दिल्लीलगायत ठाउँ गएका हुन् ।
त्यसो त विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो ।
त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए ।
– आजको नयाँ पत्रिका दैनिकमा खवर छ