डेंगुका बिरामी देशभर २४७ जना, कसैको मृत्यु नभएको सरकारको दावी
काठमाडौँ, ३ कात्तिक – सरकारले गत साउन यता देशभर २४७ जनामा डेंगु रोग देखापरेको जनाएको छ । उसले रोग पुष्टि भएका कुनैपनि विरामीको हालसम्म मृत्यु नभएको दाबी गरेको छ ।
चितवन, पर्सा, कैलाली, कन्चनपुर, झापा, सप्तरी, रुपन्देही, नवलपरासी, काठमाडौँ लगायतका जिल्लाहरुमा डेंगुका विरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी विरामी चितवन जिल्लामा भेटिएका छन् । सो जिल्लामा मात्रै २१९ जनामा डेंगु देखिएको छ । महाशाखाले चितवनको २१९ जना विरामी मध्ये १६६ जना विरामी रत्ननगर नगरपालिकाका भएको (सो न.पा, वार्ड नं २ र ८ वढि प्रभावित भएको) जनाएको छ ।
महाशाखाले काठमाडौँको शुक्रराज ट्रपिकल अस्पतालमा गत बैशाख देखि आजसम्म १४ जना विरामीको उपचार भएको र ती मध्ये उपत्यकाका स्थायी बासिन्दा दुई जना रहेको जनाएको छ । महाशाखाले उपत्यकामा डेंगु फैलाउने लामखुट्टेको घनत्व तुलनात्मक रुपमा कम भएकाले महामारीको सम्भावना न्यून रहेको जनाएको छ । यद्धपी सतर्क रहन उपत्यकाबासीलाई आग्रह गरेको छ ।
महाशाखाले रोग निदानका लागि आवश्यक किट उपलव्ध गराइरहेको र थप किटका लागि खरीद प्रक्रिया सुरु भएको जनाएको छ । रोग अतिप्रभावित क्षेत्र चितवनको रत्ननगरमा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्यक्रम पुरा भएको जनाएको छ ।
के हो डेंगु रोग ? कसरी लाग्छ ? कसरी जोगिने ?
डेंगु ज्वरो एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखु«ट्टे अन्य लामखु«ट्टे भन्दा अलि ठूलो आकारको र कालोसेतो छिर्केमिर्के रंगको हुन्छ ।
यो लामखुट्टे सहर तथा नगरउन्मुख गा.वि.सहरुमा बढी पाइन्छ । ती ठाउँका खुल्ला स्थानमा राखिएका मोटर गाडीका टायरहरु, प्लाष्टिकका पानीका वोतलहरु, प्लेट सहितको गमला, फुटेका भाँडाकँुडा तथा खपटाहरु, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थानहरु र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएको पानीका भाँडाहरुमा यस जातका लामखुट्टले आफ्नो वृद्धि विकास गर्ने भएकोले पानी जम्ने अवस्था आउनै नदिने र भैसकेको छ भने नष्ट गर्नु नै यस रोगबाट बच्ने सवै भन्दा प्रभावकारी उपाय हो ।
डेंगु ज्वरो अति तीव्र खाले विषाणुजन्य रोग हो । यसका लक्षणहरु, एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबरहरु आउने गर्दछन् । केही बिरामीमा सुरुमै शरीर रातो विमीरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्तो डाबरहरु देखिन्छन् ।
ज्वरो आइरहेका अवस्थामा केहि विरामीहरुमा नाक तथा गिजाबाट रगत वग्ने र छालामुनि रक्तस्राव हुने ९एभतभअजष्बभ० हुन्छ । तर डेंगू हिमोराजिक फिभर वाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून हुन्छ ।
यस्ता बिरामीहरुलाई विशेष हेरचाहको लागि अस्पताल भर्ना गर्नु पर्दछ । यो रोगका बिरामीहरु सामान्यतया वैशाख देखि मंसिर महिनासम्म देखिने गरेका छन् ।
यो रोगबाट बच्ने उपायहरु :
- डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकोले यसको टोकाइबाट बच्नको लागि, पुरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्दछ । हात खुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाईबाट वच्न सकिन्छ ।
- डेंगु सार्ने एडिज् लामखुट्टेले मानिसको वस्ती वरिपरि प्राकृतिक वा कृत्रिम रुपले जमेको पानी जस्तै मर्मत गर्न राखेका वा फँयाकेका टायरहरु, बाटा, बाल्टीन, प्लेट सहितको गमला, एयर कन्डीसनर, लोटा, गिलास, कतारो, खुल्ला वोतलहरु, थोरै भन्दा थोरै पनि पानी जम्ने भाँडाहरु (जस्तै सिसिको विर्को), खुल्ला पानीको ट्ंयाङ्की वा खुल्ला पानीका भाँडाहरुमा फूल पारी वृद्धि विकास गर्ने भएकोले आँफैले लामखु«ट्टेका यस्ता वासस्थान खोजि तथा लार्भा नष्ट गर्नु पर्दछ ।
- डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त संपर्क गर्नुपर्दछ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




