‘सिलिपिङ टयाबलेट’ खाएर अस्पतालमै सुतेका शशांकलाई विहान हेर्दा अचेत !

sasanka koirala

काठमाडौँ २३ असार – मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. सशांक कोइराला सामान्य अवस्थामै थिए । सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो । उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ । सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए । चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे ।

‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो । पेटको सामान्य खराबी भएर ल्याइएको थियो । बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए ।’

भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट कोठामा बसेका थिए । ‘बेलुका भोक लागेर पिजा खाने भन्नुभयो । पिजा ल्याएर दियौं, त्यसपछि एक गिलास जुस पनि खानुभयो,’ तिवारीले भने । कोइरालासँग केही चिकित्सक र सहयोगी राति १ बजेसम्म कुराकानी गरेर बसेका थिए । त्यतिबेलासम्म उनलाई केही भएको थिएन । अस्पतालमा निदाउन गाह्रो होला भनेर सुत्ने बेलामा ‘सिलिपिङ टयाबलेट’ दिइएको थियो । त्यसपछि उनी निदाए । ‘म आफैं पनि राति एक–दुई पटक उठेर हेरें, घुर्दै सुतेको देखें । घुर्ने उहाँको बानी नै थियो, मस्तसँग निदाउनु भएको छ भन्ठानें,’ सँगै रहेका तिवारीले भने ।

उनका अनुसार सबै निद्रामा रहेका बेला बिहान साढे ५ बजे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न आएकी थिइन् । त्यतिबेला कोइराला अचेत भइसकेका थिए । नर्सले चिकित्सकहरूलाई खबर गरिन् । कोइरालाले बान्तासमेत गरेका थिए । तर, कति बजेतिर बान्ता गरे कसैलाई थाहा भएन । तिवारीको अनुमानमा बिहान ३ बजेतिर बान्ता भएको हुन सक्छ । कोइरालाको स्वास्थ्यस्थिति बुझ्न बिहान साढे ५ बजेमात्रै नर्स पुगेको पुष्टि स्वयंं अस्पतालको पहिलो विज्ञप्तिले गरेको छ ।

बुधबार बिहान जारी विज्ञप्तिमा कोइराला खोकी र श्वासप्रश्वासमा असहज भई अस्पताल भर्ना भएको उल्लेख छ । अघिल्लो दिन राति सामान्य अवस्थामा रहेको रक्तचाप बिहान साढे ५ बजे ६०/४० थियो । शरीरमा अक्सिजन लेभल ६९ मात्र थियो । छातीको एक्सरे गर्दा निमोनियाँ देखियो । लगत्तै काठमाडौंमा उपलब्ध वरिष्ठ कन्सल्ट्यान्टहरूलाई बोलाइयो र भेन्टिलेटरमा राखेर उपचार प्रक्रिया सुरु गरियो । मेसिन र मेडिसिनको सहयोगमा केही सुधारोन्मुख भए पनि अस्पतालका चिकित्सकले साँझसम्म पनि स्थिति खतरामुक्त भइनसकेको बताएका छन् ।

राति किन अस्पतालबाट केयर गरिएन भन्ने प्रश्न नेता तथा कार्यकर्ताले गरेका छन् । जवाफ अस्पतालले समेत दिन सकेको छैन । कोइरालाको अवस्था गम्भीर भएर भेन्टिलेटरमा राखिएपछि मात्रै पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूलाई खबर गरिएको थियो ।

लगत्तै नेताहरू अस्पताल पुगेका थिए । सभापति देउवाले तत्काल भारत लैजाने तयारी गर्न अस्पतालसँग आग्रह गरे । उनले भारतका केही चिकित्सकसँग फोनमार्फत सल्लाह पनि गरे । अस्पतालका प्रवक्ता लव जोशीले अस्पतालबाट विमानस्थलसम्म समेत लैजाने अवस्था नरहेको सञ्चारकर्मीसँग बताएका थिए ।

‘यहाँबाट विमानस्थल र दिल्ली विमानस्थलबाट अस्पतालसम्म लैजान सकिने अवस्था भयो भने एयर एम्बुलेन्सबाट लैजान सकिन्छ, यो विकल्पलाई हामीले खुला राखेका छौं,’ उनले भने । जोशीका अनुसार कोइराला–पत्नी डा. सुपात्राले भारतमा हुनेजस्तै उपचार पद्धति भएकाले ओममै राखेर उपचार गर्न आग्रह गरेकी थिइन् । – आजको कान्तिपुर दैनिकमा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *