नक्कली आरोपित तीन चिकित्सक ७२ लाख धरौटीमा छुटे

doctor

काठमाडौँ, २० असार – नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी ठगी गरेको आरोपमा विराटनगरबाट पक्राउ परेका तीनजना चिकित्सक जिल्ला अदालत मोरङले माग गरेको धरौटी रकम बुझाएर आइतबार छुटेका छन् ।

थुनछेक बहसपछि जिल्ला अदालत मोरङको अलगअलग इजलासले तीनैजनालाई ठूलो मात्रामा धरौटी रकम माग गर्दै तारेखमा छाड्न आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार ठगी आरोपमा पक्राउ परेका बाल रोग विशेषज्ञ सञ्जयकुमार दास, नेत्र रोग विशेष लिली राजवंशी र हाडजोर्नी तथा नशा रोग विशेष अवुल कलामसँग अलगअलग मात्रामा धरौटी रकम माग गरिएको छ ।

न्यायाधीशहरु विनोद मोहन आचार्यको इजलासले राजवंशीसँग ३५ लाख, फणिन्द्रप्रसाद पराजुलीको इजलासले दाससँग २३ लाख ९० हजार र हरिशचन्द्र इङ्नामको इजलासले कलामसँग १३ लाख रुपैयाँ धरौटी माग गरेको श्रेस्तेदार दुलालले बताए ।

अदालतले मागेको धरौटी रकम बुझाएपछि आइतबार नै उनीहरु छुटेका छन् । दुलालले भने, ‘तीनैजनाको सम्बन्धमा तत्काल देखिएको प्रमाणका आधारमा धरौटी लिएर मुद्दाको कारवाही अघि बढाउन अदालतले आदेश दिएको हो ।’

लिली विराटनगर आँखा अस्पतालको सिफारिसमा तिलगंगा आँखा काठमाडौंमा अध्ययनरत थिइन् । कलाम ट्रमा सेन्टर विराटनगर र दास श्रीराम डाईग्नोसिस क्लिनिक विराटनगरमा कार्यरत थिए ।

नक्कली प्रमाणपत्रका आधारमा चिकित्साशास्त्र अध्ययन गरी ठगी गरेको भन्दै तीनैजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले गत असार ३ गते विराटनगरबाट पक्राउ गरेर मोरङ अदालतबाटै ठगि मुद्दा चलाएको थियो ।

प्रहरीले अनुसन्धान सकेर बुझाएपछि त्यसलाई मूल्यांकन गर्दै सरकारी वकिल कार्यालयले पाँच वर्षसम्म कैद र विगो बमोजिम जरिवानाको माग राखेर तीनैजनाविरुद्ध अदालतमा अभियोग दायर गरेको थियो ।

तारेखमा छुटेका चिकित्सकले मुद्धाका किनारा नलागुन जेलसम्म काम गर्न पाउने नपाउनेबारेमा अदालतले केही पनि आदेशमा केही पनि खुलाएको छैन ।

‘धरौटी बुझाएपछि तारेखमा छाड्ने आदेश मात्र भएको छ,’ दुलालले भने, ‘कामका सम्बन्धमा आदेशमा केही पनि खुलाइएको छैन ।’

  • अन्नपूर्ण पोष्ट दैनिकबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *