एचआइभी सङ्क्रमित आमाले जन्माइन स्वस्थ जुम्ल्याहा बच्चा !

Rss_Images_1467115957938_NA_Chitwan_160628_Child1

नारायण अधिकारी/चितवन, १४ असार –  एचआइभी सङ्क्रमित भएकै कारण सम्बन्धविच्छेद भई पुनर्विवाह गरेका एक दम्पतीले जुम्ल्याहा सन्तान जन्माएपछि उनीहरुको जीवनमा खुसी फर्खिएको छ ।

चितवनको माडी घर भएका ती दम्पतीले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन् । उनीहरुबाट जन्मिएका दुई छोराको स्वास्थ्य अवस्था राम्रो छ ।

सुरुमा परीक्षण गर्दा दुवै बच्चामा एचआइभी सङ्क्रमण भेटिएको छैन । जन्मिएको ४२ दिनपछि डिएनए डिसिआर परीक्षण गरेपछि सङ्क्रमण भए/नभएको पत्ता लाग्ने चिकित्सकहरुले बताएका छन् । प्रारम्भिक परीक्षणमा सङ्क्रमण नदेखिएकाले सङ्क्रमणमुक्त हुने सम्भावना बढी छ ।

एचआइभी सङ्क्रमणका कारण दुवैले जीवनमा निकै ठूलो आरोहअवरोह पार गरेका छन् । श्रीमान् राम ९नाम परिवर्तन० र श्रीमती सीता (नाम परिवर्तन) बीच चार वर्षअघि दुवैको दोस्रो विवाह भएको हो । पहिलो विवाह गरेका रामको श्रीमतीबाट र सीताको श्रीमान्बाट एचआइभी सङ्क्रमण भएको उनीहरु दाबी गर्छन् ।

एचआइभी सङ्क्रमण भएपछि दुवैले सम्बन्धविच्छेद गरे । आफू सङ्क्रमित भएपछि सङ्क्रमित नथपिउन् भनी सङ्क्रमित भएकाहरुको अधिकारका लागि दुवै जुटे ।

रामले भने – “यही क्रममा हाम्रो भेट भयो, विवाह बन्धनमा बाँधियौँ ।” परिवारको एकमात्र छोरा रामको परिवारमा सन्तान जन्मिँदा अहिले खुसीको सीमा छैन । निकै मार्मिक र पीडादायी जीवन भोग्दै आएका रामले आफ्नो विगत सुनाउँदै भने “वैदेशिक रोजगारका लागि टिकट काटेर जानुभन्दा अघिल्लो दिन रगत परीक्षण गर्दा आफूमा सङ्क्रमण भेटियो । त्यो कहालिलाग्दो समय अहिले म व्यक्त गर्न सक्दिनँ ।”

पाँचवर्षको मलेसिया बसाइपछि २०६३ भदौमा राम घर फर्किए, २०६४ फागुनमा विवाह भयो । त्यसको एक महिनापछि पुनः दुवई जानका लागि आवेदन दिए । उनले भने – “स्वास्थ्य परीक्षण गरियो, पैसा पनि बुझाइयो । शनिबार दिउँसोको उडान थियो, म बिहिबार काठमाडौँ पुगेँ ।” उनले थपे – “यो बीचमा मलाई जन्डिस भएकाले पुनः स्वास्थ्य परीक्षण गर्न नातेदारसमेत रहेका एजेन्टसँग आग्रह गरँे ।” उनकै सहयोगमा शुक्रबार स्वास्थ्य परीक्षण गर्दा शङ्कास्पद देखियो, टेकुमा परीक्षण गर्न भनियो ।

उनी भन्छन् “शुक्रबार टेकुमा परीक्षण गरेँ, टेकुमा पनि एचआइभी सङ्क्रमण देखियो, टिकट रद्द गरेँ, मेरो विदेश जाने सपना चकनाचुर भयो ।” श्रीमतीमा पनि एचआइभी सङ्क्रमण पुष्टि भयो । आफ्नो विगतको कथा सुनाउँदै उनले भने – “त्यसपछि मेरो जीवनका सबै सपना चकनाचुर भए ।” उनले अगाडि भने – “श्रीमतीसँग कुरा मिलेन, सम्बन्धविच्छेद भयो ।”

त्यस्तै, सीताको पनि आफ्नै कथा छ । नवलपरासीकी सीता बागलुङका एक युवकसँग विवाह बन्धनमा बाँधिइन् । भारतको बनारसमा काम गर्दै आएका ती युवकसँग विवाह भएको एक महिना बित्न नपाउँदै एचआइभी सङ्क्रमण भएको थाहा भयो ।

यससँगै उनले पनि सम्बन्धविच्छेद गरिन् । त्यो पीडाको समयलाई सम्झन पनि उनी चाहन्नन् । तर आज जीवनमा उकाली ओराली गर्दै खुसीको क्षणसम्म उनी आइपुगेकी छिन् । दुई छोराकी आमा बनेकी छन् ।

एएचएफ नेपाल, भरतपुर अस्पतालको सहयोगमा उनीहरुका जस्ता ७१ बालबालिकाले जन्म लिएका छन् । सन् २०११ देखि हालसम्म सङ्क्रमित आमाबाट ती बालबालिका जन्मिएका हुन् ।

एएचएफ नेपाल, भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार, नियमित औषधि सेवन गरेका आमाबाट जन्मिएका बच्चा सुरक्षित छन् । अस्पतालमा जन्मिएका ती बच्चामध्ये दुई जनामा सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भएको छ । अन्य ६६ बच्चा स्वस्थ छन् । दुईजना गर्भवती आमाले अहिले औषधि खाइरहेका छन् ।

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेलले एचआइभी सङ्क्रमित आमाहरुलाई अस्पतालमा अन्यलाई भन्दा प्राथमिकतामा राखेर उपचार र बच्चा जन्माउँदा शल्यक्रिया गर्ने गरेको बताए।

नियमित एआरटी प्रयोग गरेका आमाबाट जन्मिएका अधिकांश बच्चा सङ्क्रमणमुक्त रहेको पनि उहाँले बताउनुभयो । विगतमा चिकित्सकहरुले एचआइभी सङ्क्रमितहरुलाई नहेर्ने गरेको गुनासो हटेर गएको उनले दाबी गरे। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *