शरीर शुद्धिकरण गराउनु छ ? आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुपाल्चोक जानुस्
सिन्धुपाल्चोक, ९ असार – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुपाल्चोकले साताको दुई पटक शरीर शुद्धिकरण गर्ने आयुर्वेदिक उपाय स्नेहन( स्वेदन तथा शिरोधरा) सेवा सुरु गरेको छ । हरेक साता सोमबार र बिहीबार बिहान १० देखी २ बजेसम्म सो सेवा सुरु गरेको हो ।
केन्द्र प्रमुख तथा आयुर्वेद चिकित्सक डा. शंकर गौतमका अनुसार पंचकर्मको पुर्वकर्म मानिने स्नेहन कर्म अन्तर्गत पहिले प्रभावित अंगमा रोग अनुसारको औषधीय गुणयुक्त तेलले मालिस गरिन्छ । त्यसपछि गरिने स्वेदन कर्म अन्तर्गत औषधि प्रयोग गरेर पानीको बाफले सेक्ने काम गरिन्छ ।त्यस्तै शिरोधारामा औषधीय गुणयुक्त तेलको प्रयोग गरि शीरमा तेलको धारा खसालिन्छ र आवश्यकता अनुसार मसार गरिन्छ ।
केन्द्रका अनुसार यो सेवा स्वस्थ व्यक्तिले शरीरमा भएका बिकार बस्तु हस्टाउन, स्वास्थय संरक्षण तथा प्रवर्धन गर्न र बिरामी व्यक्तिहरुको रोग निर्मुल गर्ने उपायको रुपमा लिइन्छ ।
डा. गौतमले यो सेवाको चिकित्सकीय प्रयोगले पक्षघात, बाथ रोग, आमबात, वातरक्त बढेको, नसा च्यापिएको, हड्डी खिइएको, शरीरका सबै जोर्नीहरुको दुखाई लगायतका सम्पूर्ण हाडजोर्नीका विरामीलाई फाइदा हुने बताए ।
त्यस्तै उनले आघातजन्य शोथ, मांसपेशी शोथ, पातलो शरीर भएका (स्नेहन), मोटो शरीर भएका (स्वेदन) कोलेस्ट्रोल बढेका, मानसिक चिन्ताग्रस्त व्यक्ति, पिनास, श्वासरदम, कास, बढी श्रम गर्ने व्यक्तिलाई बढी लाभदायी हुने जानकारी दिए ।
त्यसो त केन्द्रले निशुल्क बिरामी परीक्षण तथा औषधि वितरण प्रक्रिया,स्थानीय जनतालाई जडिबुटी परिचयात्मक कार्यक्रम तथा विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम मार्फत जडिबुटी, घरेलु उपचारको बारेमा जानकारी तथा स्वास्थ्य जनचेतनामुलक सेवा प्रदान गरिरहेको छ।
त्यस्तै स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक औषधि वितरण, जेष्ठ नागरिकको स्वास्थ्य प्रबर्धनमा बिशेष कार्यक्रम, गाउँघररशहरी क्लिनिक, नसर्ने रोग व्यवस्थापन, निस्शुल्क स्वास्थ्य शिबिर, सुचनामुलक सामग्री प्रकाशन, परम्परागत स्वास्थ्यकर्मीहरुसंग छलफल गरि बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन अनुरोध गर्ने लगायतका कार्यक्रम समेत गर्दै आएको छ ।