मेडिकल काउन्सिलको रिक्त उपभोक्ता कोटामा डेन्टल कलेजका पूर्वसीइओ

nmc

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको उपभोक्ता कोटा तर्फको सदस्य पदमा भीम चन्द नियुक्त भएका छन् । चन्द नोवेल मेडिकल कलेजको भगिनी संस्था काठमाडौँस्थित पिपुल्स डेन्टल कलेजका पूर्व सीइओ हुन् ।

स्वास्थ्य मन्त्री रामजनम चौधरीले गत आइतबार मन्त्रीस्तरीय निर्णय मार्फत चन्दलाई नियुक्त गर्ने निर्णय गरेका थिए । सोही निर्णयको पत्र चन्दले हिजो ( सोमबार ) नै बुझि सकेका छन् ।

उपभोक्ता कोटाबाट यसअघि उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया सदस्य भएका थिए । तर उनले व्यक्तिगत कारण देखाई दुई महिना अघि राजिनामा दिएका थिए । सोही कोटामा चन्द नियुक्त भएका हुन् ।

काउन्सिलमा रिक्त रहेको कोटामा सदस्य बन्नका लागि नोवेल मेडिकल कलेजका डा. सीता पोखरेलको समेत प्रस्ताव अघि सरेको थियो । तर मेडिकल कलेजमा कार्यरत डाक्टर उपभोक्ता कोटामा रहँदा विवाद हुने भन्दै उनको सट्टा चन्दको नाम अघि सरेको थियो ।

मलाई थाह नै दिइएन : डा सेनेन्द्रराज उप्रेती (प्रमुख विशेषज्ञ चिकित्सा सेवा महाशाखा)

मेडिकल काउन्सिलको सदस्य नियुक्त गर्न मन्त्रालयको चिकित्सा सेवा महाशाखाबाट टिप्पणी उठाएर प्रमुख विशेषज्ञको सिफारिस हुनुपर्छ । तर चन्दको प्रस्ताव गएको आफूलाई थाहै नभएको चिकित्सा सेवा महाशाखाका प्रमुख विशेषज्ञ डा. उप्रेतीले बताए ।

‘मैले पनि सदस्य नियुक्ती भएको हल्ला सुनेको छु । नियम अनुसार त मकहाँ आएर फाइल अघि बढ्नुपर्ने हो । त्यसो भएन , किन त्यसो भएन त्यो पनि मलाई थाह भएन,’ नेपाली हेल्थसंग भने ।

‘महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले सो बारे केही बताउन चाहेनन् । म केही बोल्दिन प्रवक्तालाई सोध्नुस्’ डा. सिंहले भने ।

म त पुरै उपभोक्ता भइसकेँ : चन्द

‘तपाईँ त डेन्टल कलेज व्यवस्थापक भएको व्यक्ति उपभोक्ताको कोटामा जान मिल्छ र ?’ नेपाली हेल्थको प्रश्नमा चन्दले आफू अहिले पिपुल्स कलेजमा नरहेको दावी गरे । ‘मैले माघमै राजिनामा दिएको हुँ । अहिले त म कैलाली उद्योग बाणिज्यसंघको सल्लाहकार तथा अन्य थुप्रै सामाजिक संस्थामा आवद्ध रहेको छु । त्यसैले अहिले पूर्ण उपभोक्ता भएको छु । उपभोक्ता हक अधिकारको निम्ती काम गर्छु.’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *