कपाल राेप्ने हाे ? ‘प्रति रौं ३० रुपैयाँ’

hair implante

काठमाडौँ – बिहानैदेखि कपाल रोप्न व्यस्त छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण दिउँसो अबेरसम्मै यसमा तल्लिन हुन्छन् । धुलिखेल अस्पतालमा दुई महिनायता बिदाको दिनबाहेक उनको दैनिकी यस्तै छ । कपाल प्रत्यारोपणको नयाँ विधि ‘फलिक्युलर युनिट सेपरेसन एक्स्ट्रेक्सन’ (एफयूएसई) अन्तर्गत डा. कर्ण लगायतको टोलीले खुइलिएको टाउकोमा कपाल रोप्ने सेवा थालेको हो ।

एफयूएसई प्रविधि टाँका लगाइने वा कुनै प्रकारको दाग (चिनो) देखिने खालको होइन । टाउकोमा बढी कपाल भएको ठाउँबाट एक – एकवटा निकालेर नभएको भागमा रोपिने कार्य हो । ४ देखि ६ घण्टासम्म लाग्ने यो विधिबाट अस्पतालमा २० जनाले कपाल प्रत्यारोपण गरिसकेका छन् । शल्यक्रियाको दुई-तीन साताभित्र प्रत्यारोपित कपाल झर्छ, तर केही महिनाभित्र त्यहीं नयाँ कपाल उम्रिन थाल्छ ।

अस्पतालले एउटा कपाल उखेलेर रोपेबापत ३० रुपैयाँ शुल्क लिने गरेको छ । ‘विदेशी चिकित्सक आएर निजी अस्पताल/क्लिनिकमा एउटा कपाल रोपेबापत सयौं रुपैयाँसम्म लिने गरेका छन्,’ डा. कर्णले भने । हालसम्मका २० जनामध्ये कम लाग्नेले ५० हजार रुपैंया र बढी लाग्नेले ९० हजार रुपैंयासम्म तिरेर टाउकोमा कपाल रोपेको उनले बताए ।

प्रत्यारोपणका क्रममा पाइने अर्को सुविधा हो, मन परेको फिल्म हेर्ने । ‘प्रत्यारोपण गराउनेलाई बोर नहोस् भनेर पहिल्यै सोधेर उहाँहरूले नै रुचाएको फिल्म अपरेसन थियटरमा देखाउने गरेका छौं,’ उनले भने ।

धुलिखेल अस्पतालले कपाल प्रत्यारोपण प्रक्रिया दुई वर्षअघिदेखि नै थालेको हो । इजरायल गएर डा. एलेक्स गिन्जबुग्रसँग प्रत्यारोपण सिकेर आएपछि अस्पतालका चिकित्सकले यो सेवा थालेका हुन् ।

‘सुरुमा हामीले ६ महिनासम्म मृत शरीरको टाउकोमा कपाल रोप्ने र बेर्नाका लागि उखेल्ने प्राक्टिस गर्‍यौं,’ डा. कर्णले भने, ‘त्यसपछि खसीको र सुँगुरको छालामा पनि अभ्यास गर्‍यौं ।’ तीन महिने यो सिकाइमा खसीको छाला खासै सफल नभए पनि सुँगुरको मोटो छालामा प्रत्यारोपण सहज भयो । ‘मृत शरीर, जनावर आदि हुँदै हामी पुन नन कस्मेटिक कन्सर्नका बिरामीको निशुल्क  प्रत्यारोपण ६ महिनासम्म गरेर हाल सौन्दर्यका लागि सेवा थालेका छौं,’ उनले भने ।

कसरी रोपिन्छ कपाल ?

कपाल रोप्न पहिला बेर्ना तयार गरिन्छ । टाउकोमै प्रशस्त भएको ठाउँबाट कपाल निकालेर २० डिग्री सेन्टिग्रेड तापक्रमभित्र राखेर ६ घण्टाभित्रै रोपिसक्नुपर्छ । त्यतिन्जेलसम्म कपाललाई मर्न नदिन स्लाइन पानीमा राखिन्छ । ‘प्रतिवर्ग सेन्टिमिटरमा ४० देखि ५० वटा बेर्ना रोपिन्छ,’ डा. कर्णले भने, ‘टाउकाकै कपाल उखेलेर रोपिने भएकाले कुनै रोगव्याधी नभए सधैंका लागि हुनेछ ।’ हाल टाउकोमा मात्र भए पनि पछि आँखीभौं र जुंगामा समेत रौं प्रत्यारोपण गरिने योजना अस्पतालको छ ।

  • आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *