दुई महिना अघि जन्मेको शिशुको तौल डेढ किलो मात्रै !

रोल्पा, ९ असार । ‘दुई महिना अघि जन्मेको शिशुको तौल डेढ किलो मात्रै ?’ सुन्दै अचम्म लाग्न सक्छ  तर बास्तविकता यहि हो ।

जिल्लाको माडी गाउँपालिका २ लोसेबाङका लालबहादुर खड्का(१८) र कविता खडका (१८)को पहिलो सन्तानको रुपमा दुई महिना अघि जन्मिएको छोराको तौल अहिले १ हजार ५ सय ग्राम मात्रै छ ।

स्थानीय घर्तीगाँउ स्वास्थ्य चौकीका इन्चार्ज कृष्णप्रसाद आचार्यका अनुसार जन्मदा शिशुको तौल १ हजार ८ सय ग्राम थियो । तर जन्मेको दुई महिनाको अवधीमा तौल बढ्नुको सट्टा ३ सय ग्रामले घट्यो ।

नियमित खोप लगाउन भन्दै घर्तीगाँउ स्वास्थ्य चौकीबाट खटिएकी एक जना स्वास्थ्यकर्मीले रिपोर्टिङ गरेपछि मात्रै शिशुको अवस्था सार्वजनिक भएको हो ।

‘शिशु यो अवस्थामा पुगेको रहेछ । तर गाँउका वडा अध्यक्षलाई पनि थाह रहेनछ । हामीलाई त कसैले भन्दै भनेनन् । न घर परिवारले उपचारका लागि हामी सम्म आईपुग्यो । हाम्रो महिला स्वास्थ्यकर्मीले खोप लगाउने बेलामा देखेपछि बच्चाको बारेमा मलाई जानकारी गराउनु भएको थियो । तर म विशेष कामले बाहिर थिएँ । आज मात्रै गएर बच्चालाई हेर्न सकेँ । गाँउपालिकाका जनप्रतिनिधिहरुलाई आज मात्रै थाह भयो,’ आचार्यले थपे, ‘अब बल्ल थप उपचारका लागि पहल गर्दैछौँ ।’

कम उमेरमै विहे बन्धनमा बाँधिएका खड्का दम्पत्तीले सन्तान समेत छिटै जन्माउने निर्णय गरे । १७ बर्षकै उमेरमा गर्भवती भएकी श्रीमती कवितालाई लिएर लालबहादुर दुई महिना अघि सदरमुकामस्थित रोल्पा जिल्ला अस्पताल पुगेका थिए ।  त्यहाँ उनीहरुले सन्तान त जन्माए तर कम तौलको । ‘चिकित्सकहरुले कम्तीमा चौविस घण्टा अस्पतालमै बस्नुपर्ने सल्लाह दिएका रहेछन् । तर उनीहरु सुत्केरी भएको केही घण्टा पछि नै भागेर घर आए । त्यसै त कम तौलको शिशु त्यसमाथि स्याहार राम्रो नपाएपछि विरामी हुन थाल्यो । उनीहरु झारफुक तिर लागेछन् । स्वास्थ्यचौकीसम्म आएको थाह पाइएन । यसले गर्दा बच्चाको स्वास्थ्य थप विग्रदै गएको हो,’ इन्चार्ज आचार्यले भने ।

स्वास्थ्य चौकी इन्चार्ज आचार्यले घरमै गएर शिशु भेटेपछि भने ढिला नगरी उपचारका लागि नेपालगञ्ज लैजान भनेका छन् । ‘तर भोलि बन्दको हल्ला छ । एम्बुलेन्सका लैजान पनि खर्चको समस्या होला जस्तो देखिएको छ । विकल्पहरु खोजी भइरहेको छ,’ उनले भने ।

रोल्पालाई तत्कालिन माओवादी जनयुद्धको आधार इलाका भनिन्छ । ‘त्यहि ठाँउका नन्दबहादुर पुन अहिले देशको उपराष्ट्रपति भएका छन् । बर्षमान पुन अहिले उर्जामन्त्री छन्, पूर्व सभामुख एवं सांसद ओनसरी घर्तीको त क्षेत्र नै त्यहि पर्छ । तर त्यहि गाँउको एउटा दम्पत्ती कुपोषणले ग्रस्त आफ्नो शिशुलाई उपचार गराउन नसकेको भनेर बसेको छ । यो विडम्बना हो,’ सदरमुकाम लिवाङका छविलालले भने ।

स्वास्थ्य चौकी इन्चार्ज आचार्यले भने, शिशुको अवस्था गम्भीर हुँदै गएकोले उपचारमा ढिलाई गर्न नहुने बताएका छन् । तर परिवारले भने शिशुको उपचारका लागि खर्च जुटाउन नै समस्या भएको बताउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *