नेपालमा नाक कान घाँटीको क्यान्सरको अवस्था र नियन्त्रणका उपायहरु

- नेपाली हेल्थ
  • डा.  प्रभातचन्द्र ठाकुर (हेड नेक क्यान्सर रोग विशेषज्ञ)

नेपालमा नाक कान घाटीको क्यान्सर (हेड नेक क्यान्सर)बाट मात्रै बार्षिक ३५०० देखि ५००० जनाले ज्यान गुमाउने गरेका छन् । र बार्षिक रुपमा यस रोगबाट संक्रमित हुनेको संख्या लगभग तीस हजार रहेको अनुमान छ ।

डा.  प्रभातचन्द्र ठाकुर (हेड नेक क्यान्सर रोग विशेषज्ञ)

नेपालको जनसंख्या अनुसारको यो रोगको संक्रमण र मृत्युदर निकै धेरै हो ।

विश्वमा बढी देखिने क्यान्सरहरुको सूचीमा नाक कान घाँटीको क्यान्सर पाँचौँ नम्बरमा पर्छ तर नेपालमा अस्पतालमा उपचारका लागि आएको विरामीको तथ्यांकले पुरुषहरुमा फोक्सोको क्यान्सरकै हाराहारीमा अर्थात पहिलो नम्बरमा र महिलामा पाठेघर र स्तन क्यान्सर पछि अर्थात तेस्रो नम्बरमा रहेको देखिन्छ ।

यहि अवस्थामा बढदै गयो भने हेड नेक क्यान्सरले केही बर्षमै धेरै नेपालीको ज्यान लिने निश्चित छ ।

हेड एण्ड नेक क्यान्सर कुन कुन भागको क्यान्सरलाई भनिन्छ ?
घाँटीको सबभन्दा तलको भाग देखि माथि पिनास र दिमाग छुट्याउने हड्डी सम्मको भागमा हुने क्यान्सरलाई हेड एण्ड नेक क्यान्सर भनिन्छ ।

यसमा थाइराइड, घाँटीको गिरखाको रोग, रयाल ग्रन्थीको रोग, मुख गिजा, जिव्रो, गाला, मुखको पछाडीको भाग (टन्सील, जिब्रोको फेद, तालु ) खाने तथा श्वास फेर्ने माथिल्लो भाग, नाग र पिनास अनुहारको छाला, कानको बाहिरी र भित्री भागमा देखिने क्यान्सर पर्दछन् ।

नेपालमा पुरुषहरुमा मुख तथा स्वरयन्त्रको क्यान्सर र महिलामा मुख तथा थाइराइड क्यान्सर बढी भएको पाइएको छ । हेड एण्ड नेक क्यान्सर महिलाको तुलनामा पुरुषहरुमा तीन गुणा बढी पाइएको छ । यो क्यान्सर कुनै पनि उमेरमा हुनसक्ने भएपनि ८० प्रतिशत बढी ५० बर्ष नाघेका व्यक्तिहरुमा देखिएको छ ।

रोग लाग्ने मुख्य कारण

मुख र श्वास तथा खाने नलीको क्यान्सर हुनुमा ९० प्रतिशत कारण सूर्तिजन्य पदार्थ र रक्सी सेवन हो । हाम्रो समाजमा सानै उमेरमा यस्ता कुलतमा पर्ने हुनाले औसत रोग लाग्ने उमेर समेत अरु देशमा भन्दा कम पाइएको छ । जुन उपचारको हिसावले राम्रो मानिदैन ।

तराई भेगमा सुर्ती गुट्का, पानको सेवनदर बढी भएकोले मुखको क्यान्सर रोगी बढी छन भने पहाडमा बढी चुरोट रक्सी सेवन गर्ने बढी भएकोले स्वरयन्त्र, मुखको पछाडीको भागको क्यान्सररोगी बढी पाइएको छ ।

धूमपान गर्ने भन्दा धूमपान र मध्यपानसंगै गर्नेमा यो रोग हुने सम्भावना धेरै गुणा बढी हुन्छ । नाकको पछाडीको भाग र मुखको पछाडीको भाग रोग केही भाइरल संक्रमणले पनि हुने गरेको पाइएको छ ।

थाइराइड रयालग्रन्थी, घाँटीको गिरखाको रोग मुख्यतया कुनै कुलत भन्दा सो अंगको कोशिकामा हुने खराबीले गर्दा हुने गरेको पाइएको छ । अनुहारको छालाको रोग घाममा हुने विकीरणले गर्दा हुने गरेको छ ।

रोग लागेपछि कस्ता लक्षण देखिन्छ ?
मुखमा लामो समयसम्म नभरिने र विस्तारै बढदै जाने घाउ, खान निल्न गाह्रो हुँदै जाने, स्वर भासिँदै जाने, घाँटीको बाहिरी भागमा डल्लो देखिनु, दाँत हल्लिनु वा फुकालेको ठाँउमा घाउ देखिनु मुख र स्वर यन्त्र रोगको लक्षण हो ।

यस्तै लामो समय सम्म एक पाटोको पिनास बल्झि राख्नु,सिंघानमा रगत देखिनु, नाकमा मासु पलाएको देखिनु, आँखा सुन्निनु नाक र पिनासको क्यान्सर लक्षण हुन सक्छ ।

थाइराइडको क्यान्सरमा घाँटीको तल्लो भागमा डल्लो देखिनु, स्वर धोद्रो र सुक्दै जानु, घाँटीको गिरखा ठुलो देखिनु जस्ता लक्षण देखिन्छ ।

घाँटीको गिरखा ठूलो हुनु आफैमा रोग हुनसक्ने सम्भावना हुन्छ भने बढी मुख, नाकको पछाडीको भाग, स्वरयन्त्रको रोगबाट सरेको हुनसक्छ ।

अनुहारको छालको घाउ ठुलो भएर आउनु, पहिलेको कोठी ठूलो हुनु छालाको क्यान्सरको लक्षण हुनसक्छ ।

रोग भएको कसरी थाह पाउने (डायग्नोसिस) ?
उमेर ५० नाघेका, लामो समय धूमपान तथा मध्यपान गर्ने व्यक्तिहरु माथि उल्लेखित लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । चिकित्सकीय जाँच पछि शंका लागेको ठाँउबाट मासुको जाँच बायोप्सी वा सुईबाट पानी तानेर गरिने जाँच (एफएनएसी)बाट रोग एकीन गरिन्छ ।

रोग कत्तिको फैलिएको (स्टेज) कुन उपचार पद्धती अपनाउँदा राम्रो हुन्छ भन्ने कुरा थाह पाउन इमेजिंगको मद्धत लिइन्छ । जसमा सिटिस्क्यान, एमआरआई, अल्टासाउन्डग्राफी, पेटस्क्यान प्रविधिको प्रयोग गरिन्छ । मुखको पछाडीको नाकको पछाडीको भाग र स्वर यन्त्रको रोग निदनको लागि इन्डोस्कोपी गर्ने गरिन्छ । जसले कुन भागमा रोग भएको र कति फैलिएको एकिन गर्न मद्धत पुरयाउँछ । 

यी बाहेक नियमित रक्तजाँच पनि गरिन्छ । जसले रोगको उपचारमा मद्धत पुरयाँउछ ।

उपचार विधि र रोग निको हुने सम्भावना 
चिकित्सकीय जाँच र रोग यकिन हुने जाँच पछि रोग कत्तिको फैलिएको ( क्लिनिकल स्टेजिंग) गरिन्छ । यसपछि कुन उपचार पद्धती अपनाउँदा रोग ठिक हुने सम्भावना बढी हुन्छ त्यसको तय गरिन्छ ।

उपचार पद्धतीहरुमा शल्यक्रिया, विकिरण पद्धती र किमोथेरापी पर्दछ । शुरुको अवस्थाको रोगलाई शल्यक्रिया वा रेडियो थेरापीले उपचार गर्न सकिन्छ भने रोग ठूलो र फैलिएको छ भने एक भन्दा बढी पद्धतीद्धारा उपचार गरिन्छ।

हेड एण्ड नेक क्यान्सरको रोग ठिक हुने सम्भावनालाई उपचार पछि पाँच बर्ष रोग मुक्तभएर बाँच्ने सम्भावना कति प्रतिशत ( फाइव एयरर्र्स सर्भाइवल रेट)को हिसावले हेरिन्छ । जसमध्ये थाइराइडको रोगलाई सबभन्दा राम्रो मानिन्छ ।

थाइराइडबाहेकको रोगमा पहिलो स्टेजमा सो प्रतिशत ८० देखि ९० प्रतिशत हुन्छ भने चौथो स्टेजमा सो प्रतिशत ५० प्रतिशत भन्दा कम हुन्छ । रोग धेरै फैलिएर उपचार गर्दा पनि निको हुने सम्भावना धेरै कम भएको अवस्थामा रोकथाम र रोगले गर्दा हुने पीडा कम गर्ने हिसावले उपचार गरिन्छ । जसलाई पेलियटीव केयर भनिन्छ ।

रोगको उपचारमा देखिने चुनौतीहरु
हाम्रो समाजमा क्यान्सर रोगलाई अझै सामाजिक विसंगतिसंग जोडेर हेर्ने हुनाले रोगको भएको स्वीकार गर्दैनन । चिकित्सकको सल्लाह ढिलो लिनु घरेलु उपचार गरेर बहुमुल्य समय गुमाउनु, क्यान्सर सम्वन्धी उपचार हुने अस्पतालमा ढिलो पुग्नु वा रेफर हुनु, रोग ठिक हुने कुरामा विश्वास नगर्नु, आर्थिक भार,पारिवारिक सहारा नहुनु जस्ता चुनौतीहर उपचारको क्रममा देखिन्छ ।

क्यान्सर अस्तालमा हेड एण्ड नेक क्यान्सर विरामीको चाप बढी हुनु, यस विशेषतमा दक्ष जनशक्तिको कमी हुनु, उपचारको लागि लामो समय कुर्नु पर्ने, बढी विरामी ( ८० प्रतिशत) ठूलो र फैलिएको रोग लिएर आउने जस्ता चुनौतिहरु सेवा दिदै गर्दा सामना गर्नु परेको छ ।

तर विस्तारै उपचारको सुविधा बढ्दै जाँनु, थप क्यान्सर अस्पताल निजी तथा सरकारी स्तरमा खोल्नु उपचरामा नविनतम प्रविधिहरु शुरु हुनु र रोकथाममा अस्पताल र संघ संस्थाको सम्लग्नता विरामी र चिकित्सक दुबैको लागि खुशीको कुरा हो । अहिले क्यान्सर रोगको सम्पूर्ण उपचार देशमै सम्भव भएको हुनाले उपचारका लागि विदेश जानुपर्ने देखिदैन ।

कसरी बच्न सकिन्छ हेड एण्ड नेक क्यान्सरबाट ?
धूमपान तथा सूर्तिजन्य पदार्थ, मध्यपानको कुलत नगर्ने, फलफुल र हरियो सागसब्जीको बढी प्रयोग गर्ने जस्ता स्वस्थ जीवन शैलीले रोग लाग्ने सम्भावना कम हुन्छ । रोगको लक्षण वा शंका लागेमा चिकित्सकीय सल्लाह लिने र समयमै उपचार गराउने तर्फ ध्यान दिनु पर्दछ ।

# डा. ठाकुर नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा हेड नेक क्यान्सर इकाई प्रमुखका रुपमा कार्यरत छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *