झापामा एचआइभी संक्रमितको संख्या घट्दै

 झापा, १५ मंसिर । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।

जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएको हो । गत वर्ष एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चारजना महिला र छजना पुरुष संक्रमितको मृत्यु भएको थियो ।

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले बताए । पुरुष २५५ जना र महिला २०६ जना महिला रहेका छन् । तीमध्ये ४५७ जनाले नियमित औषधि ९एआरटी० सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ ।

“स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ” पौडेलले भने । गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । जिल्लामा डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभीसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *