तारापुर शिविरका बासिन्दा बिरामी, उपचारमा समस्या

कञ्चनपुर, १० साउन । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् ।१३० परिवारका ७० जना बढी व्यक्ति बिरामी परेका हुन् ।

शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एक साता अघिदेखि झाडापखाला, ज्वरो, जोर्नी दुख्ने, बान्ता हुने, शरीर चिलाउने, ठूल्ठूला फोका उठनेजस्ता लक्षण देखिएकोे शिविरका नरिभान ढुङ्गालले बताए।

“शिविरमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै रहेका र कमाइ गर्न युवा भारतलगायत शहरी क्षेत्रमा रहेकाले उपचारका लागि लैजाने व्यक्तिसमेत नहुँदा समस्या देखिएको छ” उनले भने ।

धेरै परिवारका बिरामी परेकासँग उपचारका लागि खर्चको अभाव हुँदासमेत झोपडीमै रोग सहेर बस्नुपरेको उनको भनाइ छ । “बिरामी परेकाको उपचारमा समस्या देखिएपछि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखलाई उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेका छौँ” परमलबहादुर ऐडीले भने ।

चाँडै औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइ उपचारमा सघाउ पु¥याउने अश्वासन दिएको उनले बताए ।

लामखुट्टे भगाउन धुवाँको प्रयोग

शिविरमा बस्दै आएका परिवारले रातभर दाउरा, गुइँठाको प्रयोग गरी धुवाँ बनाइ लामखुट्टे भगाउने कार्य गर्दै आएका छन् । लामखुट्टको टोकाइबाट बच्चालाई बचाउन झुल नहुँदा उनीहरुले वैकल्पिक उपाय धुवाँ अपनाउँदै आएका हुन् ।

मजदुरी गरेको पेशाले साँझ बिहानको छाक टार्नमै ठिक्क हुने भएकाले झुल किन्न नसक्दा धुवाँको सहारा लिनु परेको ढुङ्गेलले  बताए  ।

धुवाँका कारण अधिकांश शिविरमा बसोबास गर्दै आएका परिवारमा खोकीलगायतको स्वासप्रस्वासको समस्या समेत देखिएको छ । यसबाट बालबालिका र महिला बढी प्रभावित भएका छन् । झुल उपलब्ध गराउन विभिन्न निकायमा पुग्दा समेत सुनवाइ नभएको शिविरमा बस्दै आएका परिवारको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *