पाठेघरको मुखको क्यान्सर के हो ? यसबाट कसरी बच्ने ?

 

किशोरकुमार प्रधानाङ्ग

हाम्रो देश नेपालमा महिलाहरूमा देखिएका क्यान्सर रोगहरू मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । अज्ञानता, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्षेनी थुप्रै महिलाहरूको मृत्यु हुने गरेको छ । यो रोग सुरुकै अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरेमा पुर्णतया निको पार्न सकिन्छ ।

पाठेघर (गर्भाशय) को मुखमा असामान्य परिवर्तन हुन गई त्यहाँका कोष—कोषिकाहरूमा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्दछ र शरीरको अन्य भागमा पनि फैलिन सक्छ जसका कारण मानिसको मृत्यु हुन्छ । शरीरको अन्यत्र भागहरूमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेको यस्ता गिर्खा वा घाउलाई पाठेघरको क्यान्सर भनिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारणहरू :

  •  सूक्ष्म विषाणु (Human papilloma virus) को गर्भाशयमा सङ्क्रमण ।
  •  कम उमेरमा विवाह तथा यौनसम्पर्क गर्नु ।
  •  कम उमेरमा बच्चा जन्माउनु ।
  •  धेरै बच्चा जन्माउनु ।
  •  एकभन्दा बढी व्यक्तिहरूसंग  यौनसम्पर्क गर्नु ।
  •  यौनरोग तथा गुप्तांगका दीर्घ रोगहरू ।
  • गुप्तांगको सरसफाईमा ध्यान नदिनु ।
  •  चुरोट, बिंडी, खैनी, तमाखु र सूर्तीजन्य पदार्थको सेवन ।

पाठेघरको मुखको क्यान्सरको लक्षणहरु :

  • महिनावारी नभएको समयमा पनि रगत (Inter Menstrual Bleeding) देखा पर्नु ।
  • यौन—सम्पर्कपछि रगत (Contact Bleeding) आउनु ।
  • महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट रगत (Post Menopausal Bleeding) आउनु ।
  • महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु ।
  • गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।
  • तल्लो पेट दुख्नु, आलस्य हुनु वा धेरै थकाई लाग्नु ।
  • उपरोक्त कुनै पनि लक्षणहरु देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नु पर्दछ ।

पाठेघरको मुखको क्यान्सरको निदान विधिहरु :

पाठेघरको मुखको क्यान्सरको निदान सुरुको अवस्थामा गर्नसक्यो भने उपचार पनि प्रभावकारी हुन्छ । रोग फैलिसकेको वा ढिलो रोगको निदान हुने गरेको हालको अवस्थालाई परिवर्तन गर्न महिलाहरुले आफ्नो परीक्षण माथि उल्लिखित लक्षणहरू देखा नपरे पनि नियमितरूपले गर्भाशयको स्राव परीक्षण (Pap Smear/VIA )तथा गराउनु पर्दछ ।

यसले गर्दा पाठेघरको मुखमा घाउ वा सुरुको अवस्थामा क्यान्सर पत्ता लाग्न सक्दछ र उपचार गरी क्यान्सर रोकथाम गर्न सकिन्छ । स्वास्थ्यकर्मी वा सम्बन्धित चिकित्सकले यस्तो परीक्षण गर्न साधारण उपकरण र औषधिको प्रयोग गर्दछन् ।

आवश्यकता परेमा रोग निदानका लागि प्रभावित भागबाट मासुको सानो टुक्रा (Biopsy) निकाली जाच्न पर्दछ ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख उपचार विधिहरू :

सुरुकै अवस्थामा यो रोग पत्ता लगाई समुचित उपचार गरेमा पाठेघरको मुखको क्यान्सर पूर्णतया निको पार्न सकिन्छ । तर रोगको प्रकृति, अरु अंगमा  फैलिएको वा नफैलिएको अवस्थाहरूले उपचारको प्रभावकारिता र परिणाम निर्भर गर्दछ । तसर्थ पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्न आवश्यक छ ।

१. शल्यक्रिया : रोग लागेको भाग वा अंगलाई अप्रेशन गरी निकाल्ने गरिन्छ ।
२. रेडियोथेरापी : क्यान्सर भएका कोष—कोषिकाहरूलाई मार्न विकिरणको प्रयोग गरिने उपचार विधि । यसका लागि ब्रेकिथेरापी उपकरणको प्रयोग गरी विकिरणको श्रोत गर्भाशयको मुख नजिक राखेर पनि उपचार गरिन्छ ।
३. केमोथेरापी : औषधि (Anti Cancer Drugs) को प्रयोगद्वारा क्यान्सर भएका कोष—कोषिकाहरू नाश गर्ने उपचार विधि ।
४. प्यालिएटिभ केयर : रोगीको दुखाई वा अन्य असुविधाहरू कम गर्न गरिने आवश्यक उपचार विधि ।
उपरोक्त उपचार विधिहरू मध्ये एक वा एक भन्दा बढी बिरामी र रोगको प्रकृतिको आधारमा विधिहरूको प्रयोग गरिन्छ । पौष्टिक आहार, बिरामीको स्याहार—सुसार तथा परिवारिक स्नेह क्यान्सर रोगको उपचारमा ठूलो महत्व रहेको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथाम :

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्नलिखित कुराहरू गर्नु आवश्यक छ :

  •  सानो उमेरमा विवाह गर्नु हुदैन ।
  • महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष (प्याप स्मेयर) परीक्षण गराउनु पर्दछ ।
  • धेरै जनासंग यौनसम्पर्क गर्नु क्यान्सरको एक कारक तत्व भएको हुनाले सोबाट जोगिनु पर्दछ ।
  • गुप्तांगसम्वन्धी रोगहरूको समयमै उपचार गराउनु पर्दछ ।
  • गुप्तांग सधै सफा राख्नु पर्दछ ।
  • धेरै बच्चा जन्माउनु हुँदैन ।
  • चुरोट, बिंडी, खैनी, तमाखुजस्ता सूर्तीजन्य पदार्थहरूको सेवन गर्नु हुदैन ।
  • पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्न पर्दछ ।

# प्रधानाङ्ग चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागमा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *