दाँतको नियमित परीक्षण किन जरुरी छ ?

दाँतको बनावट तीन तहमा रहेको हुन्छ।  सबैभन्दा बाहिर सेतो भाग देखिन्छ, जसलाई हामी इनामेल (Enamel) भन्दछौँ । त्यसपछि भित्री भागलाई डेन्टिन (Dentin) भन्दछौँ । सबैभन्दा भित्री भागलाई हामी पल्प (Pulp) भन्दछौँ । दाँतको बाहिरी भाग इनामेल (Enamel)  एउटा खनिज तह हो । जसमा कुनै किसिमको पनि रक्त नली तथा नसा हुँदैन्।

दाँतको बनावट

दाँतको नियमित सरसफाई गरिएन भने नजानिदो तरिकाले यसमा संक्रमण सुरु हुन्छ । संक्रमण इनामेल तहसम्म सिमित रहँदा नदुख्ने भएकोले मानिसलाई खासै थाहा हुँदैन र वास्ता समेत गर्दैैनन् । तर, नियमित दन्त परीक्षण गर्दा भने दन्त चिकित्सकले त्यो पत्ता लगाईदिन सक्नुहुन्छ ।

सुरुमै यस्ता संक्रमण पत्ता लाग्दा उपचार छिटो सजिलो कम खर्चिलो र सबैभन्दा महत्वपूर्ण कुरा दुई नहुँदै समस्याको समाधान गर्न सकिन्छ ।

यदी इनामेल तहमा भएको संक्रमणलाई रोक्ने कोशिस गरेनौँ र संक्रमण बढ्दै गयो भने त्यसले भित्री भाग डेन्टीन (Dentin)लाई असर गर्न सक्दछ । जहाँ नशाका मसिना हाँगाहरु हुन्छन्। संक्रमण डेन्टिन (Dentin)सम्म पुग्दा चिसो तातो वा गुलियो खानेकुरा खानको लागि समस्या देखिन्छ।

डेन्टिन (Dentin)मा खनिजको मात्रा इनामेल तहमा भन्दा कम हुने भएकाले संक्रमण डेन्टिन (Dentin)देखि पल्प (Pulp) सम्म छिट्टै नै पुग्दछ। अर्को कुरा पल्प (Pulp)मा  दाँतका नशा तथा रक्त नलीहरु हुन्छन्। त्यसैले अब दाँत दुख्ने समस्या सुरू हुन्छ। पल्प (Pulp)मा हुने संक्रमणलाई हामी पल्पाइटिस ( Pulpitis) भन्दछौँ ।

यस्तो अवस्थामा भने अब दाँतको उपचार नशा देखि नै गर्नु पर्ने हुन्छ । जसलाई चिकित्सकीय भाषामा रुट क्यानल ट्रिटमेन्ट ( Root Canal Treatment -RCT) ) भनिन्छ । यो उपचार लामो, झन्झटिलो र खर्चालु हुन्छ।

आरसीटी गर्दा दाँत को जरामा हुने नलीहरूलाई केमिकल र फिल्सहरुको प्रयोग ले संक्रमण मुक्त गराइन्छ । साथै उचित एन्टीबायोटिकको प्रयोग गर्न पनि आवश्यक हुन सक्दछ । आरसीटीको सफलता नै जराका नलीहरूलाई संक्रमण मुक्त गरेर त्यसलाई स्थायी रूपले भर्नुमा भर पर्दछ। जसलाई चिकित्सकीय भाषामा अव्टुरेसन (Obturation) भनिन्छ।

संक्रमण को सानो अंश मात्र पनि बाँकी रहेको खण्डमा समस्या बल्झिरहने हुन्छ।  त्यसैले जराको नली सफा गरेर संक्रमण मुक्त भएपछि मात्र भर्ने गरिन्छ।

अर्को कुरा पछिल्लो समय  दाँत दुखेको खण्डमा उपचार गराउनको सट्टा जथाभावी एन्टीबायोटिक र पेन किलर (दुखाइ कम गर्ने औषधी) को प्रयोग गर्ने प्रचलन बढिरहेको छ।

यसो गर्नाले दाँतको समस्या पूर्ण रुपले निको नहुने र पछि फेरि बल्झिरहने तथा जथाभावी एन्टीबायोटिकको प्रयोगले एन्टीबायोटिक रेसिस्टेन्स जस्तो समस्या देखिने गरेको छ। त्यसैले नियमित दाँतको परिक्षण गर्ने र जथाभावी औषधीको प्रयोग नगर्नाले धेरै खर्च र अन्य समस्याहरू बाट बच्न सकिन्छ।

# डा . अर्याल र डा .थापा हाल कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा डेन्टल इन्टर्न गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *