पाठेघर फुटेकी गर्भवतीको ज्यान बच्यो, बच्चा बचेन

खोटाङ, २६ पुस । सुत्केरी ब्यथाका क्रममा पाठेघर फुटेकी खोटाङकी एक गर्भवती आमाको पेटबाट मृत बच्चा निकालिएको छ । चौबीस घन्टाभन्दा बढी समयसम्म सुत्केरी ब्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो ।

पाठेघर फुटेर सिकिस्त बनेको अवस्थामा जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ र अशोक गिरीको टोलीले शल्यक्रिया गरेर मृत बच्चा निकालिएको महिलाका आफन्तले बताएका छन् ।
भुजेलले १६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन लागेको खुलेको छ ।

धामीझाँक्रीको भरमा बस्दा ढिला गरी अस्पतालमा ल्याइएकी भुजेलको शल्यक्रिया गर्न चारघन्टा समय लागेको उपचारमा संलग्न डा बरालले बताउनुभयो । डा बरालका अनुसार ब्यथाकै क्रममा सुत्केरी महिलाको पाठेघर फाटिसकेको पाइएको थियो ।

सुत्केरीको जीवन बचाउका लागि लिच्कीराम्चेका रमेश राई र नेपाली सेनाका एक जवानबाट आवश्यक रगत जुटाइएको थियो । मृत्युको मुखबाट बचाइएकी महिलालाई थप उपचारका लागि सोमबार हेलिकोप्टर चार्टर गरेर प्रसूतिगृह, थापाथली, काठमाडौँ पठाइएको छ ।

महिलाको अवस्था अहिले सामान्य बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । भुजेल दम्पतीका दुई छोरा छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *