वीरले मनायो १३४ औँ बार्षिकोत्सव
वीर अस्पतालको सेवामा साच्चिकै सुधार आएको भन्दै स्वास्थ्य मन्त्री बस्नेत खुशी देखिए

काठमाडौँ, १२ साउन । वीर अस्पतालले शुक्रबार १३४ औँ बार्षिकोत्सव मनाएको छ । राणा प्रधानमन्त्री वीर शम्शेरले विसं १९४६ सालमा स्थापना गरेको यो अस्पताल आधुनिक चिकित्सा तर्फ देशको सबैभन्दा जेठो हो ।
स्थापनाका बेला १५ शैय्या रहेको यस अस्पतालले यतिवेला ९६० शैय्याबाट आफ्नो सेवा प्रदान गरेको छ । उपचार सेवा मात्रै होईन, यसबीचमा दक्ष जनशक्ति उत्पादन गर्ने देशकै उत्कृष्ठ एकेडेमी, स्वास्थ्यका महत्वपूर्ण अनुसन्धान गर्ने रिसर्च सेन्टरको रुपमा पनि आफूलाई स्थापित गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत वीरमा सन् १९३३ बाट नै मेडिकल शिक्षा सुरु भएको बताउँछन् । ‘त्यसबेला सिभिल मेडिकल स्कुलको रुपमा सेवा सुरु गरि ड्रेसर कम्पाउन्डर, नर्सिङ शिक्षाको सुरुवात गरिएको थियो भने सन् १९८७ मा बेलायतको एफआरसीएस, एमआरसीपी एमआरसीओजीको दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता पाएको थियो । यस्तै सन् १९९४ मा पीजीएमईसीसी मार्फत एमडीएमएसको तालीम सुरु भएको थियो । विसं २०६३ देखि त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भई शिक्षण अस्पतालको रुपमा वीरले काम गरिरहेको छ,’ शैक्षिक ईतिहास खोतल्दै उपकुलपति प्राडा बस्नेतले भने ।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पताल यतिवेला आम सर्वसाधारण गरीब बर्ग देखि देशका अति विशिष्ठ तथा अति विशिष्ठ व्यक्तिको उपचार गर्ने थलोको रुपमा परिचित भएको बताए । उनी भन्छन्, ‘हामी आकारमा बदलिएका छौँ । प्रविधिबाट सुसज्जित हुँदैछौँ । जनशक्ति थपिदै छौँ । सेवाको दायारा फराकिलो पादैृछौँ । केही समय यता वीरका गतिविधिहरुलाई विश्लेषण गर्दा थाहा हुन्छ, ऐतिहासिक वीर अस्पताल अब सेवामा पनि उत्कृष्ठता प्रदान गर्दै अघि बढी रहेको छ ।’
उनका अनुसार पछिल्लो एक वर्षमा ५ लाख ६६ हजार बढीले ओपिडी सेवा लिएका छन, १८ हजार ५२७ जना भर्ना भएर उपचार गराएका छन् । मेजर सर्जरी ८हजार ३५६ वटा भएका छन् ।
निर्देशक डा पौडेलले ओपिडीमा अघिल्लो वर्षको तुलनामा झण्डै दुई लाख बढी व्यक्तिले सेवा लिएको बताए । उनले यो सेवाका लागि अस्पतालमा विशेषज्ञ डाक्टर नर्स, प्यारामेडिक्स सहित कुल १ हजार ८४६ जना कार्यरत रहेको बताए । सो अवसरमा उनले अस्पतालको १० बुँदे कार्ययोजना र केही समस्याहरुका बारेमा पनि अवगत गराएका थिए ।
वीर अस्पतालको सेवामा साच्चिकै सुधार आएको भन्दै स्वास्थ्य मन्त्री बस्नेत खुशी देखिए

अस्पतालको बार्षिकोत्सव समारोहमा भाग लिन प्रमुख अतिथिको रुपमा उपस्थित थिए स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । समारोहमा उनी आज निकै खुशी देखिए ।
अस्पतालका बार्षिकोत्सवमा आउने जुनसुकै मन्त्री र नेताहरुले अस्पतालको सेवा भएन, डाक्टरले काम गरेन, नर्सको पारा मिलेन, अस्पताल फोहोर भयो आदि इत्यादि भन्दै अस्पताल नेतृत्वको उछितो काड्ने परम्परा नै बसेको थियो । तर , मन्त्री बस्नेतले आज झण्डै पौने घण्टा दिएको मन्तव्यमा अस्पताल नेतृत्व, स्वास्थ्यकर्मी तथा कर्मचारीको प्रशंसा मात्रै गरिरहे । उनले वीर नसुध्रिदा सम्म देशका स्वास्थ्य अवस्था नसुध्रिने भन्दै आफूले पनि वीरको सुधारका लागि आवश्यक सहयोग गरिरहेको र गरिरहने बताए ।
अस्पताल सुधारका लागि सबै पक्षको उत्तिकै भूमिका हुने भन्दै उत्कृष्ठ महिला पुरुष, पुरानो नयाँ गरी सबै विभागबाट दुई दुई जनाको नाम सिफारिस गरि पठाउन समेत निर्देशन दिए । ‘तपाईँहरुले सिफारिस गरेका व्यक्तिहरुलाई मैले अन्तराष्ट्रिय स्तरको तालीममा मनोनयन गर्नेछु,’ उनले भनेका थिए ।
उनले वीरले निशुल्क शैय्या दिने घोषणा गरेपछि अहिले देशभरका सरकारी अस्पतालमा कुल ३ हजार ५२३ शैय्या निशुल्क भएको सुनाए । ‘यसैले वीरले रोलमोडलको परिचय बनाएको छ । म खुशी छु । राम्रो गर्दा प्रशंसा गर्नै पर्छ,’ उनले भने ।
उनले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्नदेखि भिआईपीसम्मका बिरामीले महसुस गर्ने गरी काम गरेको दाबी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै बिरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको बताए ।
वीर अस्पतालका ७०० शय्या विपन्नका लागि निस्शुल्क गरेको, आकस्मिक कक्षमा शय्या संख्या बढाएको, ओपिडी सेवा बिहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागू गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईबाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए।
उनले अस्पतालको सेवाको बारे, सुधारका बारे, गुनासो बारे बुझ्न भित्र भित्र आफ्ना मान्छे खटाएको भन्दै उनीहरुको रिपोर्टले समेत आफूलाई खुशी तुल्याएको बताए ।
कार्यक्रममा उपकुलपति प्रा डा भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउँदै निकट भविष्यमै आईसीयूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताए।
वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले १५ शय्याबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शय्या सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृद्धि नभएको दुखेसो पोखे।
उनले ३८६ शय्याको अस्पताल हुँदा २ अर्बभन्दा बढी बजेट विनियोजन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताए। गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना बिरामीले सेवा पाएको बताउँदै वीरमा सेवा थपिँदै गएको अवस्थामा बिरामीको संख्या अर्को वर्ष अझ थपिने दावी पौडेलले गरे।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले कार्ययोजना सहित आएमा वीरका लागि थप सहयोग गर्न मन्त्रालय सधैव तयार रहेको बताईन् । उनले पछिल्लो समय वीरको सेवामा निकै सुधार आएको भन्दै खुशी व्यक्त गरिन । वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन्।
कार्यक्रममा चिकित्सा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, न्याम्सको रजिस्टार डा ज्ञानेन्द्र शाह, रेक्टर डा लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए।
समारोहमा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



