१ साउनबाट ओपिडी सेवा विहान ८ बजे देखि सुरु गर्दै वीर अस्पताल

काठमाडौँ । आगामी १ साउनबाट वीर अस्पतालमा विहान ८ बजे देखि ओपिडी सेवा सञ्चालन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को शुक्रबार बसेको बैठकले १ साउन देखि वीर अस्पतालको ओपिडी सेवा विहान ८ बजे देखि गर्ने निर्णय गरेको हो ।
सो दिन देखि अस्पतालको समय एक घण्टा अघि सारिएको छ । अर्थात अस्पतालको समय विहान ८ देखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ । अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले विहान उपचार सेवालाई थप सहज बनाउनका लागि विहानी सत्रलाई अगाडी सारिएको बताए । नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा विहान ८ देखि बेलुकी ८ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्ने भन्ने थियो । बजेटमा भने सो कुरा अटाएको थिएन ।
निर्देशक डा पौडेलले भने, ‘हामीकहाँ अहिले पनि प्रयोगशाला विहान ७ बजे देखि नै खुल्छ । ओपिडी टिकट पनि विहान ७ बजे देखि नै खुल्छ । नर्सिङ सिफ्ट पनि ८ बजे परिवर्तन हुन्छ । डाक्टरको सेवा र प्रशासनका कर्मचारीको मात्रै ९ बजे देखि सुरु हुन्थ्यो । त्यसलाई पनि अघि सारिएको हो । साउन १ गतेदेखि वीरमा ८ बजेबाट कार्यालय समय सुरु हुने छ।’
वीरले ४ बजेपछिको समय इएचएस सेवा सञ्चालन गर्ने विषयमा पनि तयारी अघि बढाउँदै छ । ‘कार्यदलले दुईवटा सुझाव दिएको छ । सो मध्ये कुन कार्यान्वयन गर्ने भन्ने निर्णय भइसकेको छैन् । विस्तारित सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल हुँदैछ,’ उनले भने ।
वीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




