नसर्ने रोगको पहिचान गर्दै बेथानचोक गाउँपालिका

52
Shares

काठमाडौँ, १६ असार । काभ्रेको बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ ।

वडास्थित समुदायका ४० वर्ष माथिका नागरिकको मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको असारभित्र पहिचान गर्ने उद्देश्यले तालिका बनाएर गाउँपालिकाले क्याम्प कार्यक्रम सञ्चालन गरिरहेको हो । गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीच सम्झौता गरी स्क्रिनिङ क्याम्प सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सम्झौतामा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका छ वटै वडामा समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकको नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप लगायत)को स्क्रिनिङ क्याम्प सेवा उपलब्ध गराउने उल्लेख गरिएको हो ।

यस्तै स्क्रिनिङपश्चात् अस्पतालमा रेफर भई आउने बिरामीलाई २० प्रतिशत उपचार शुल्क छुट गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचापलगायतका समस्याको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्न सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीले बताए ।

कार्यक्रम अन्तर्गत नागरिकलाई वडावडामै स्क्रिनिङ सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्या के–कति रहेका छन् । सोको तथ्याङ्क सङ्कलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *