क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर

जुम्ला, ३२ जेठ । तिला गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका पाँच स्वास्थ्य चौकीमा क्षयरोगका बिरामी पत्ता लगाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब उत्तम देवकोटाले जानकारी दिए ।

सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका उनले बताए ।

यसको प्रमुख कारण खानपानमा ध्यान नदिनु र विलाशी जीवनशैली हो । अहेव देवकोटाले भने, “स्वास्थ्यकर्मीसहितको टोली तिलाका ग्रामीण स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य शिविर सञ्चालनबाट यहाँका करिब तीन सय १२ जना लाभान्वित भएका छन् ।”

सो स्वास्थ्य शिविरबाट राँसा स्वास्थ्यचौकीमा महिला ८१, पुरुष ४५, जुम्लाकोट स्वास्थ्यचौकीमा महिला २९, पुरुष २१, कुडारी स्वास्थ्यचौकीमा महिला २४, पुरुष २३, रारालिही स्वास्थ्यचौकीमा महिला २५, पुरुष २४ र घोडे महादेव स्वास्थ्यचौकीमा महिला २० तथा पुरुष २० गरि जम्मा तीन सय १२ जनाको क्षयरोगसम्बन्धी स्वास्थ्य जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका सिनियर स्वास्थ्य अहेब देवकोटाको भनाइ छ ।

स्वास्थ्य सेवालाई सहज पहुँचमा पु¥याउनका लागि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिने थालेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए । पालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई गाउँमा लिएर स्थानीयको स्वास्थ्य जाँच र उनीहरूको स्वास्थ्य समस्याबारे समाधान गर्न लागि गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन जस्ता राहत हुने कार्यक्रम स्थानीय सरकारले विशेष प्रथामिकतामा राखेर गरेको उपाध्यक्ष बुढाको भनाइ छ ।

गाउँमै क्षयरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेकामा यहाँका बासिन्दालाई स्वास्थ्य जाँच गर्न सहज भएको तिला–१ का स्थानीय माने रावलले बताए । उक्त स्वास्थ्य शिविरबाट पालिकाका नौवटै वडाका ज्येष्ठ नागरिकलगायतले स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *