उदयपुरमा महिला स्वास्थ्य स्क्रिनिङ्ग तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न

उदयपुर २८ मंसिर । महिलाको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर बुधबार उदयपुरको गाईघाटमा एक दिने महिला स्वास्थ्य स्क्रिनिङ्ग तथा स्तन क्यान्सर सचेतना शिविर सञ्चालन गरिएको छ ।
त्रियुगा नगरपालिका ११ नं वडा कार्यालयको आयोजना र गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल हेल्थ कमिटि तथा उदयपुर जेसीसको समन्वयमा त्रियुया उमाविमा आयोजित निशुल्क शिविरमा साढे ३ सय बढी महिलाले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले उद्घाटन गरेको सो शिविरमा महिलाहरुको ब्लड सुगर जाँच, रक्तचाप जाँच, साधारण स्वास्थ्य सेवा, स्तन क्यान्सर सम्वन्धी स्वयं परीक्षण विधिबारे महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षण गरिएको थियो ।
शिविरका लागि एनआरएनए ग्लोबल हेल्थ कमिटिका अध्यक्ष डा सञ्जीव सापकोटा सहित काठमाडौंबाट युवा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही, नर्भिक अस्पतालका नर्सिङ्ग डाइरेक्टर डा पुनम केसी लगायतको टोली गाईघाट पुगेको थियो । शिविरका लागि सो टोलीलाई स्थायीय तहका स्वास्थ्यकर्मीहरुले सहयोग गरेका थिए ।

‘हामीले महिलाहरुमा हुने विविध खाले स्वास्थ्य समस्याको स्क्रिनिङ्ग र बढ्दो क्रममा देखिएको स्तन क्यान्सरको जोखिमलाई न्युनिकरण गर्ने उदेश्यले परीक्षण संगै प्रशिक्षण, सचेतना कार्यक्रम गरेका हौँ । यसमा उल्लेख्य महिलाहरुको उपस्थिति रह्यो,’ शिविरका लागि समन्वय गरेको एनआरएनए ग्लोबल हेल्थ कमिटिका अध्यक्ष डा सापकोटाले भने ।
परीक्षण र प्रशिक्षणमा सहभागि भएका क्यान्सररोग विशेषज्ञ डा. शाहीले केही महिलाहरुमा स्तन क्यान्सरको जोखिम देखिएको बताए । उनले महिला शिविरमा आएका महिलाहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सरको स्वयं परीक्षण विधिबारे सिकाएको समेत बताए । ‘आफ्नो स्तनको जाँच कसरी गर्ने भनेर हामीले सिकाएका छौँ । स्तन क्यान्सरका अन्य लक्षणहरु समेत भनेका छौँ । यो महिला दिदी बहिनीहरुले बुझ्नु भयो र सचेत हुनुभयो भने स्तन क्यान्सरले गर्न सक्ने हानीलाई समयमै नियन्त्रण गर्न सजिलो हुन्छ,’ डा शाहीले भने ।

शिविरको उदघाटन गर्न पुगेका मन्त्री खड्काले नसर्ने रोगको जोखिम बढीरहेको भन्दै नियमित स्वास्थ्य जाँच तथा महिलाहरुले गर्नुपर्ने स्क्रिनिङ्गमा ध्यान दिनुपर्ने बताए । उनले सरकारले क्यान्सर मुटु मिर्गौला लगायतका केही रोगको उपचारमा सुविधाका थैलीहरु उपलव्ध गराए पनि त्यो पर्याप्त नभएको बताउँदै यस्ता रोगको लागि व्यक्ति सचेत हुनु महत्वपूर्ण हुने बताए ।
उनले शिविरको आयोजना तथा समन्वय गर्ने र शिविरमा उपस्थित भई सेवा प्रदान गर्ने चिकित्सकहरुको समेत खुलेर प्रशंसा गरे ।



सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




