विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्याली

ललितपुर, २४ मंसिर । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा शनिबार ललितपुरमा साइकल र्याली निकालिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड यूनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपालको आयोजनामा शनिवार बिहान पाटन अस्पतालदेखि निकालिएको र्यालीमा ललितपुर महानगरपालिका, अलाइन्स अगेन्स ए.एम.आर र युवालयको सहकार्य थियो ।
र्याली पुल्चोकस्थित लबिमल, कुपण्डोल, सानेपा, जावलाखेल, झम्सीखेल हुँदै फर्केर पाटन अस्पताल पुगेको थियो ।
सो अवसरमा ललितपुरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.रवी शाक्य, प्रतिष्ठानका रेक्टर डा. पवनकुमार शर्मा, माइक्रोवायोलोजीष्ट डा. सविना डंगोलले प्रतिजैविक प्रतिरोध सचेतनाको आवश्यकता र महत्वको बारेमा धारणा राखेका थिए । सो अवसरमा उनीहरुले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
साइकल र्यालीले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या समाधानमा सचेतना प्रवाह गर्ने बताएका थिए ।

अक्सफोर्ड युनिभर्सिटीका क्लििनकल रिसर्च युनिट नेपालले एन्टीमाइक्रोबियल रेजिस्टेन्स सम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएको छ । यो सप्ताहमा सो संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।
विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना बृद्दी गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि असल अभ्यास अपनाउन प्रोत्साहन गर्ने ध्येयका साथ हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाइन्छ ।
मानिस,पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणु विरुद्ध प्रयोग हुने औषधिहरूको समुचित तरिकाले प्रयोग नगरीदा प्रतिरोध विकास भई हाल उपलब्ध एन्टिबायोटिक्स लगायतका एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कमी हुँदै गएको विज्ञहरु बताउछन् ।

पछिल्लो समय बढ्दो एन्टिबायोटिकको बढ्दो जथाभावि बढ्दो प्रयोगले विश्वमा वर्षेनी करिब सात लाख मानिसहरूको मृत्यु भइरहेको छ । यसको नियन्त्रणको लागि ठोस कदमहरू नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




