राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन : अध्यक्ष र महासचिव पदका लागि को को छन् चर्चामा ?
सहमतिमै नेतृत्व छनौट गर्ने प्रयासमा नेताहरु
काठमाडौँ, २६ चैत । शुक्रबार देखि जारी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय अधिवेशन आजबाट नयाँ नेतृत्व छनौट गर्ने प्रक्रियामा अघि बढ्दै छ । नेकपा एमालेको कान्छो जनवर्गीय संगठनको नेतृत्व चयन गर्ने महाधिवेशनको शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।
मुल पार्टी नेतृत्वले नै विशेष चासो दिएको यो संगठनको अधिवेशनबाट नेतृत्वमा को आउँनेछ भन्ने चर्चा सुरु भएको छ ।
तेस्रो महाधिवेशनमा ७९ सदस्यीय केन्द्रीय कार्य समिति बनेको यो संगठनको जारी चौथो महाधिवेशनले १७ पदाधिकारी सहित १५१ सदस्यीय नयाँ कार्यसमिति बनाउने बताइएको छ । पार्टीले जनवर्गीय संगठनको मान्यता दिएको र सात वर्षको अन्तरालमा महाधिवेशन भएको कारण पनि नयाँ नेतृत्वको लागि चासो र दावी व्यक्त हुन थालेको छ ।
नेतृत्वको लागि क कसको दावी ?
महाधिवेशनबाट नयाँ नेतृत्व छनौट हुने भएपछि पार्टी र त्यस आवद्ध स्वास्थ्यकर्मीहरुको ध्यान निर्वाचन तर्फ नै केन्द्रीत देखिन्छ । विधानले अध्यक्ष र महासचिव पदका लागि पदाधिकारी हुनुपर्ने व्यवस्था गरेका कारण नयाँ नेतृत्वका लागि अहिलेकै पदाधिकारीहरुमध्येबाट कोही हुने भन्नेमा निश्चित छ ।
महाधिवेशन सुरु हुनु अघि विशेष गरी अध्यक्ष र महासचिव पदका लागि धेरै आकांक्षी देखिएका थिए । तर सकेसम्म सहमतिमै नेतृत्व छनौट गर्न पार्टीले निर्देशन दिएपछि र नेताहरु सहमतिको प्रयासमा लागेपछि आकांक्षीको संख्या घट्दै गएको देखिन्छ । यद्धपी सहमतिमा पुगिसकेको अवस्था छैन् ।
तेस्रो महाधिवेशनबाट अध्यक्ष बनेका भक्तिमान सुब्बा नेकपा समाजवादीतर्फ लागेपछि उपाध्यक्ष रहेका रामबहादुर चन्दले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पछिल्ला केही महिना उनैलाई अध्यक्षको रुपमा पूर्ण जिम्मेवार दिइएको थियो । अहिलेको अधिवेशनबाट चन्दले पुन एक कार्यकाल नेतृत्व सम्हालन चाहेका देखिन्छन् । अध्यक्ष पदमै तेस्रो महाधिवेशनबाट महासचिव बनेका डा झलक गौतमको पनि दावी देखिएको छ ।
यस्तै महासचिव पदका लागि यसअघिका सचिवद्धय डा सन्तोष पौडेल र हिमालय तिवारी बढी चर्चामा छ । यद्धपी अध्यक्ष पदमा सहमति भयो भने अरु पदहरुमा स्वत सहमति हुने अधिकांशको बुझाई छ ।
चिकित्सक, नर्स, प्यारामेडिक्स, फार्मेसी, लगायत विभिन्न घटक रहेको संगठनमा सहमतिबाटै नेतृत्व चयन गर्नका लागि पार्टीले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईलाई निर्देशन दिएको छ । सोही अनुसार उनले शुक्रबार रातीबाटै सहमतिका लागि प्रयास गरेका छन् ।
चिकित्सक तथा प्यारामेडिक्सबाट मुख्य पदमा बाँडफाँड गरी मिलाएर लैजाने नीतिमा उनी देखिएका छन् । अध्यक्षका प्रत्यासी डा झलक गौतम सहमतिमै अघि बढ्ने संकेत गर्दछन् । तर मतदानले नेतृत्व छनौट गर्ने विकल्प पनि कायम रहेको उनी बताउँछन् ।
महासचिवका दावेदार डा सन्तोष पौडेल पनि सहमतिबाटै संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिन्छन् । ‘अध्यक्षमा सहमति भयो भने अन्य पदमा सहमति हुन्छ जस्तो लाग्छ । निर्वाचनमै जानुपर्ने अवस्था नआउँला कि ?,’ उनी भन्छन् ।
महासचिवका अर्का दावेवाद हिमालय तिवारी पनि संगठनलाई गतिशिलता प्रदान गर्ने गरी नयाँ नेतृत्व आउनुपर्ने र त्यसका लागि आफ्नो उम्मेद्धारी महासचिव पदका लागि रहेको बताउँछन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

