छारे रोग सचेतना दिवसमा धरहराबाट छरियो सन्देश
सात जना स्वास्थ्य पत्रकारलाई लेखनवृत्ति पुरस्कार
काठमाडौँ, १३ चैत । हिजो शनिबारको साँझ सुन्धारास्थित धरहरा बैजनी रङ (पर्पल कलर)ले सजाइएको थियो । सजाईएको मात्रै थिएन त्यहाँ केही सन्देश लेखिएको पनि थियो । त्यो सन्देश थियो छारोरोगका बारेमा ।
हरेक वर्ष २६ मार्चलाई विश्व छारे रोग सचेतना दिवसको रुपमा मनाइने गरेको छ । सोही अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा धरहरालाई बैजनी रङले रंग्याई केही सन्देश छाडिएको हो ।
‘नेपाली समाजमा छारेरोगका बारेमा थुप्रै भ्रम र अन्धविश्वास रहेका छन् । ती भ्रम तथा अन्धविश्वास चिर्नका लागि सचेतना दिवस मनाइएको हो । अग्लो धरहरामा सबैको नजर पर्ने भएकोले सन्देश राखिएको हो,’ सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले भने ।

स्वास्थ्य पत्रकारलाई लेखनवृत्ति वितरण
यसैबीच दिवसकै अवसरमा राजधानीमा शनिबार साँझ भएको एक कार्यक्रममा सात जना स्वास्थ्य पत्रकारहरुलाई छारेरोग सम्वन्धी लेखनवृत्ति पुरस्कार प्रदान गरिएको छ । नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्च नेपालबीच भएको सम्झौँता अनुसार ७ जना स्वास्थ्य पत्रकारका लेखनवृत्ति पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ थियो ।

पुरस्कृत हुने पत्रकारहरुमा बुनु थारु (इ कान्तिपुर), समृद्धा केसी (नेपाल भ्युज डटकम), शरद शर्मा (रासस) अजिता रिजाल ( दराइजिङ नेपाल) अस्मिता रिजाल (बाह्रखरी डटकम), माया श्रेष्ठ (रातोपाटी अनलाइन) प्रज्ञा तिमल्सिना (इमेज टेलिभिजन) रहेका छन् ।
त्यस अघि नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजुु पौडेल, नेशनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. थापा, उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई, मनोरोग विशेषज्ञ डा. आशिष दत्त लगायतले छारेको बारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा आइओएमका पूर्व डिन तथा मस्तिष्क रोग विशेषज्ञ डा. जेपी अग्रवालले पनि छारे रोगका बारेमा धारणा राखेका थिए ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




