स्वास्थ्य मन्त्री, मुख्य सचिव र स्वास्थ्य सचिवद्धारा अंगदान गर्ने घोषणा
काठमाडौँ, १५ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोख खतिवडाले मृत्यु पश्चात अंगदान गर्ने घोषणा गरेका छन् । चौविसौँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरी नामा दिएका छन् ।
उनी मात्रै होईन सो शिविरमा पुगेर मुख्य सचिव शंकरदास बैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानको लागि मञ्जुरीनामा दिएका छन् ।
प्रत्यारोपण केन्द्रले विगतवर्ष देखि नै अंगदान शिविर सञ्चालन गर्दै आईरहेको छ । थुप्रै पूर्व ्मन्त्री तथा उच्च अधिकारीहरुले अंगदान गर्ने घोषणा गरेका छन् ।
प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले स्वास्थ्य दिवसको अवसरमा मिर्गौला जाँच शिविर र अंगदान शिविर सञ्चालन गरिरहेको भन्दै मन्त्री, मुख्यसचिव र स्वास्थ्य सचिवले अंगदान गर्ने घोषणा गरेको बताए । उनले त्यसबाहेक अरु स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणले पनि अंगदानको लागि मञ्जुरीनामा दिएको जानकारी दिए ।
मन्त्रालय परिसरमा आयोजित स्वास्थ्य सेवा दिवसमा उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार, स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा सम्मान गरी १५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com