कानूनमा भएको व्यवस्था कार्यान्वयन नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या : पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी

काठमाडौँ, ९ असोज ।  पूर्वगृह एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीले कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन नगर्दा स्वास्थ्य क्षेत्रमा समस्या देखा पर्ने गरेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रका लागि जनपक्षीय निर्णय गरेपछि दवाव र प्रभावमा त्यसलाई रोक्न विभिन्न तत्व सक्रिय ढंगले लागि पर्ने बताएका छन् ।

विश्व फर्मासिस्ट दिवसको अवसरमा राष्ट्रिय फार्मेसी संघले आज राजधानीमा गरेको कार्यक्रममा नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख समेत रहेका पूर्वमन्त्री अधिकारीले कानून कार्यान्वयन नगर्नु र गर्न नदिनु नै समस्याको प्रमुख कारक रहेको बताए ।

‘अहिले हरेक अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ , डाक्टरले जेनरिक नाम लेख्नुपर्छ, फार्मेसीमा फार्मासिस्ट अनिवार्य रुपमा बस्नुपर्छ । लाइसेन्स भाडामा लिएर फार्मेसी चलाउन पाईदैन । तर यी नियममा मात्रै छन् । दवाव र प्रभावमा परेर हुनसक्छ नियमन गर्ने निकाय पनि चुपचाप बसेको देख्छु,’ उनले भने ।

पूर्वमन्त्री अधिकारीले स्वास्थ्य र औषधि जस्तो कुरामा गुणस्तरलाई नजरअन्दाज गर्न नसकिने भन्दै राज्यको लगानिमा चलेका उद्योगहरु झनै नमूनाको रुपमा सञ्चालन हुनुपर्ने बताए ।

पछिल्लो पटक नेपाल औषधि लिमिडेटमा सुधार देखिएको आफूले सुनेको भन्दै सिंहदरबार बैद्यखानाको अवस्था अझ पनि सुधार हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

मन्त्री अधिकारीले आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्दा औषधि र स्वास्थ्य क्षेत्रमा धेरै नै काम गरेको भन्दै त्यसपछिका मन्त्रीहरु झिल्केकुरामा समय व्यथित गर्दै बसेको आरोप लगाए ।

नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वल जंग पाण्डेले सबै मिलेर फार्र्मेसी क्षेत्रमा भएका विकृत्ति रोक्नु पर्ने बताए । उनले आफू आईसकेपछि काउन्सिलले कोडअफ कण्डक बनाएको छ । धेरै नक्कली सर्टिफिकेट खारेज गरेको, औषधिको समुचित प्रयोग भएको छ कि छैन भनेर अनुगमन गर्ने कामहरु भईरहेको बताए । उनले अपवात बाहेक औषधिमा नेपालीमा पनि लेभलिङ हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले स्वास्थ्य क्षेत्र र त्यस भित्रको औषधि क्षेत्रमा कानूनहरु आपसमा बाझिएको भन्दै पहिले त्यसलाई सम्हेल्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले औषधिको मूल्य, न्युट्रासिटिकल्स प्रडक्ट, भाडाका लाइसेन्स आदि फार्मेसी क्षेत्रका समस्या भएको चर्चा गरे । उनले इन्टर काउन्सिलको अवधारणा समेत अघि सारे ।

कार्यक्रममा नेपाल औषधि लिमिडेटका महाप्रवन्धक मोहमद सफिउल्लाह, औषधि व्यवस्था विभागका किरण बज्राचार्यले नेपालको औषधि क्षेत्रमा भएका काम र हुन नसकेका कामहरुको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा नेपाल नर्सिङ काउन्सिलका रजिष्ट्रार विन्दा घिमिरे, राष्ट्रिय फार्मेसी संघ केन्द्रीय अध्यक्ष क्षितिज गर्तौला, नेपाल फार्मेसी काउन्सिलका सदस्य नीरज बर्तौला लगायतले आफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *