नेपालमा शिशु जन्मेको एक घण्टा भित्रै स्तनपान गराउने ५५ प्रतिशत मात्रै

काठमाडौँ, २१ साउन। शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुलाई नवजात शिशुको स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टालाई ‘गोल्डेन आवर’ अर्थात् सुनौलो समयका रूपमा व्याख्या गरेको छ। यही समयमा स्तनपान सुरु गर्न सके शिशुको जीवन रक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा स्वस्थ विकासमा महत्वपूर्ण योगदान पुग्ने विज्ञहरू बताउँछन्।
तर नेपालमा अझै पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाले शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउन नसकेको तथ्यांकले देखाएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार नेपालमा ५५ प्रतिशत सुत्केरी आमाले मात्र जन्मेको एक घण्टाभित्र आफ्ना शिशुलाई स्तनपान गराउने गरेका छन्।
सार्क राष्ट्रहरूको तुलनामा नेपाल यो सूचकमा चौथो स्थानमा रहेको छ। पहिलो स्थानमा श्रीलंका छ, जहाँ करिब ९० प्रतिशत आमाले जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउँछन्।
दोस्रो स्थानमा भुटान रहेको छ जहाँ यो दर ७८ प्रतिशत छ भने तेस्रो स्थानमा माल्दिभ्स छ, जहाँ ६१ प्रतिशत आमाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्।
६ महिनासम्म आमाको दूध मात्रै खुवाउनेमा नेपाल दोस्रो
नवजात शिशुको पोषणका लागि अर्को महत्वपूर्ण सूचक मानिने ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ’ अर्थात् जन्मेदेखि ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै खानेकुरा वा पेय पदार्थ नखुवाउने अभ्यासमा भने नेपाल सार्क राष्ट्रहरूमध्ये दोस्रो स्थानमा रहेको छ।
डब्लुएचओका अनुसार श्रीलंकामा ८२ प्रतिशत आमाले ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउँछन्।
नेपालमा भने यो दर ६६ प्रतिशत रहेको छ।
यस्तै, शिशुलाई कम्तीमा दुई वर्षसम्म स्तनपान गराउने अभ्यासमा भने नेपाल सार्क राष्ट्रहरूमध्ये पहिलो स्थानमा छ। नेपालका ८२ प्रतिशत आमाले आफ्ना बच्चालाई दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान गराउने गरेका छन्।
किन महत्वपूर्ण छ जन्मेको पहिलो घण्टाभित्र स्तनपान ?
बाल स्वास्थ्य विज्ञहरूका अनुसार शिशु जन्मिएपछि आमाको स्तनबाट निस्कने पहेंलो र बाक्लो दूधलाई ‘कोलोस्ट्रम’ भनिन्छ। यसलाई नवजात शिशुको पहिलो खोपका रूपमा समेत लिने गरिन्छ।
कोलोस्ट्रममा प्रशस्त मात्रामा एन्टिबडी, प्रोटिन, भिटामिन तथा रोगसँग लड्न मद्दत गर्ने जैविक तत्वहरू हुन्छन्। यसले नवजात शिशुलाई झाडापखाला, निमोनिया, सेप्सिस लगायतका संक्रमणबाट जोगाउन मद्दत गर्छ।
बरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलका अनुसार स्तनपान शिशुको लागि सम्पूर्ण आहार हो। ‘आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व हुन्छन्। यो प्राकृतिक, सुरक्षित र सजिलै उपलब्ध हुने पोषणको स्रोत हो,’ उनी भन्छन्।
उनका अनुसार स्तनपानले शिशुको मस्तिष्क विकासमा सकारात्मक प्रभाव पार्नुका साथै दीर्घकालीन रूपमा स्वास्थ्य सुधार गर्न समेत महत्वपूर्ण भूमिका खेल्छ।
विश्वभर हरेक वर्ष ८ लाखभन्दा बढी शिशुको ज्यान बचाउन सकिने
विश्व स्वास्थ्य संगठन र विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले स्तनपानको अभ्यासलाई सुधार गर्न सके हरेक वर्ष विश्वभर ८ लाख २० हजारभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको ज्यान बचाउन सकिने देखाएका छन्।
विशेषगरी नवजात शिशु मृत्युदर उच्च भएका देशहरूमा स्तनपानको प्रवर्द्धनले महत्वपूर्ण परिणाम दिन सक्ने अध्ययनहरूले औंल्याएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार जीवनको पहिलो घण्टाभित्र स्तनपान सुरु गराउने, ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिने अभ्यासले बाल मृत्युदर घटाउन उल्लेखनीय योगदान पुर्याउन सक्छ।
स्तनपानले आमालाई पनि फाइदा
स्तनपानका फाइदा केवल शिशुमा मात्र सीमित छैनन्। अनुसन्धानहरूले स्तनपान गराउने महिलामा स्तन क्यान्सर, डिम्बाशय क्यान्सर तथा टाइप–२ मधुमेहको जोखिम कम हुने देखाएका छन्।
स्तनपानले प्रसूति पश्चात हुने अत्यधिक रक्तश्राव कम गर्न, आमाको शारीरिक पुनःस्थापनामा सहयोग पुर्याउन तथा आमा–शिशुबीच भावनात्मक सम्बन्ध मजबुत बनाउन समेत मद्दत गर्छ।
स्वास्थ्यकर्मीहरूका अनुसार स्तनपानले आमाको मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ।
नेपालमा किन ढिलो हुन्छ स्तनपान ?
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार नेपालमा स्तनपान सम्बन्धी ज्ञान र चेतना बढे पनि केही चुनौतीहरू अझै कायम छन्।
विशेषगरी सिजेरियन शल्यक्रियाबाट हुने प्रसूति, प्रसूति पश्चात आमा र शिशुलाई केही समय अलग राख्ने अभ्यास, परिवारमा रहेका परम्परागत गलत धारणा तथा स्तनपान सम्बन्धी अपर्याप्त परामर्शका कारण जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु हुन नसकेको पाइन्छ।
कतिपय स्थानमा अझै पनि जन्मेपछि शिशुलाई मह, घ्यू, जडीबुटीको रस वा अन्य पदार्थ चखाउने प्रचलन रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। यस्ता अभ्यासले प्रारम्भिक स्तनपानमा बाधा पुर्याउने मात्र होइन, संक्रमणको जोखिम समेत बढाउने उनीहरूको भनाइ छ।
बढ्दो बजार र चुनौती
आमाको दूधको विकल्पका रूपमा उत्पादन गरिएका विभिन्न शिशु आहार तथा दूधजन्य पदार्थको बजार विश्वभर तीव्र गतिमा विस्तार भइरहेको छ।
तथ्यांक अनुसार सन् २०१४ मा आमाको दूध प्रतिस्थापन गर्ने उत्पादनहरूको विश्वव्यापी कारोबार करिब ४५ खर्ब रुपैयाँ बराबर थियो। सन् २०१९ सम्म आइपुग्दा यो बजार बढेर ७२ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता उत्पादनहरूको आक्रामक बजार प्रवर्द्धनले कतिपय अभिभावकलाई प्रभावित गरिरहेको छ। उनीहरूका अनुसार चिकित्सकीय आवश्यकता बाहेक नवजात शिशुका लागि आमाको दूधभन्दा राम्रो विकल्प अर्को कुनै छैन।
नेपालमा कामकाजी महिलालाई चुनौती
पछिल्ला वर्षहरूमा नेपालमा महिलाहरूको कार्यक्षेत्रमा सहभागिता बढ्दै जाँदा स्तनपानलाई निरन्तरता दिन नयाँ चुनौतीहरू पनि थपिएका छन्।
विशेषगरी निजी क्षेत्रमा कार्यरत महिलाहरूले प्रसूति बिदा सकिएपछि काममा फर्किनुपर्ने बाध्यता, कार्यस्थलमा स्तनपानमैत्री वातावरणको अभाव तथा बाल हेरचाह सेवाको कमीका कारण स्तनपानलाई निरन्तरता दिन कठिनाइ हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार स्तनपानको जिम्मेवारी केवल आमाको मात्र नभई परिवार, समुदाय, कार्यस्थल तथा राज्यको साझा जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ।
वातावरणमैत्री र आर्थिक रूपमा लाभदायक
स्तनपानलाई वातावरणमैत्री अभ्यासका रूपमा पनि लिइन्छ। आमाको दूध उत्पादन गर्न कुनै उद्योग, प्याकेजिङ, ढुवानी वा प्रशोधन आवश्यक पर्दैन। यसले वातावरणीय प्रदूषण घटाउन समेत सहयोग पुर्याउँछ।
यस्तै, स्तनपानले परिवारको आर्थिक भार कम गर्छ। शिशु आहार खरिद गर्नुपर्ने आवश्यकता कम हुने, रोगको जोखिम घट्ने तथा स्वास्थ्य उपचारमा खर्च कम लाग्ने भएकाले यसलाई सबैभन्दा किफायती पोषणको स्रोत मानिन्छ।
विश्व स्तनपान सप्ताह
स्तनपानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ। सन् १९९२ देखि सुरु भएको यो अभियान विश्वभर विभिन्न कार्यक्रमसहित मनाइन्छ।
यस वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ रहेको छ।
नेपालमा पनि सरकार, विकास साझेदार संस्था, स्वास्थ्यकर्मी तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन्। स्तनपान प्रवर्द्धन, नवजात शिशु पोषण सुधार तथा मातृ–शिशु स्वास्थ्य सुदृढीकरणका लागि जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा स्वास्थ्य शिक्षा अभियान सञ्चालन गरिएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार स्वस्थ, सक्षम र बौद्धिक रूपमा सबल पुस्ता निर्माण गर्न स्तनपानको भूमिका अत्यन्त महत्वपूर्ण छ। त्यसैले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गराउने, ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिने अभ्यासलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उनीहरूको जोड छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com










