मंंगलबार मात्रै ८३ हजार जनाले लगाए ‘भेरोसेल’को दोस्रो डोज
काठमाडौँ, २२ असार । कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउने पछिल्लो अभियानको पहिलो दिन आज ८२ हजार ९२४ जनाले खोप लगाएका छन् । ७७ वटै जिल्लाका लागि अभियान शुरु भएको भएपनि आज पहिलो दिन देशका ४७ जिल्लामा मात्रै खोप चलाइएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमले बेलुका सात बजेसम्म ८२ हजार ९२४ जनाले खोप लिएको विवरण आएको बताए । उनले आजै सुरु गरिएका केही जिल्लाको विवरण आउन बाँकी भएकोले यो संख्या अझ बढ्ने दावी गरे ।
गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई आजबाट खोप दिन थालिएको हो । डा गौतमले अहिले करीब ५ लाख व्यक्तिलाई दोस्रो डोज खोप दिने योजना बनाएको बताए ।
पहिलो डोज ६० देखि ६४ बर्ष उमेर समूहका प्राथमिकतामा पारेर खोप दिइएको थियो । दोस्रो डोज लगाउने पनि उनीहरु नै हुन् ।
त्यसो त महाशाखाले दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकेको छ ।
पछिल्लो पटक गत १६ जेठमा चीन सरकारको सहयोगमा थप १० लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको थियो ।
सम्पर्क इमेल : [email protected]