मंंगलबार मात्रै ८३ हजार जनाले लगाए ‘भेरोसेल’को दोस्रो डोज

176
Shares

काठमाडौँ, २२ असार । कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउने पछिल्लो अभियानको पहिलो दिन आज ८२ हजार ९२४ जनाले खोप लगाएका छन् । ७७ वटै जिल्लाका लागि अभियान शुरु भएको भएपनि आज पहिलो दिन देशका ४७ जिल्लामा मात्रै खोप चलाइएको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमले बेलुका सात बजेसम्म ८२ हजार ९२४ जनाले खोप लिएको विवरण आएको बताए । उनले आजै सुरु गरिएका केही जिल्लाको विवरण आउन बाँकी भएकोले यो संख्या अझ बढ्ने दावी गरे ।

गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो लगाउन छुटेकाहरुलाई आजबाट खोप दिन थालिएको हो । डा गौतमले अहिले करीब ५ लाख व्यक्तिलाई दोस्रो डोज खोप दिने योजना बनाएको बताए ।

पहिलो डोज ६० देखि ६४ बर्ष उमेर समूहका प्राथमिकतामा पारेर खोप दिइएको थियो । दोस्रो डोज लगाउने पनि उनीहरु नै हुन् ।

त्यसो त महाशाखाले दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकेको छ ।

पछिल्लो पटक गत १६ जेठमा चीन सरकारको सहयोगमा थप १० लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *