चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ


धनगढी, २१ असार । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१३ का सोमराज जोशी र धनगढी-५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा उनको साथबाट चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन-७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार- १५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो।

निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी-१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो। त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताए।

बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *