कोभ्याक्स सुविधा अन्तर्गत तत्काल ‘कोभिसिल्ड’ खोप नआउने, बैकल्पिक खोप रोज्न नेपाललाई आग्रह
काठमाडौँ, ९ जेठ । नेपालमा कोभ्याक्स सुविधा अन्तरगर्त कोभिसिल्ड खोप तत्काल नआउने भएको छ । कोभ्याक्सले नेपाल सरकारलाई पत्र पठाउँदै बैकल्पिक खोप रोज्नका लागि अनुरोध गरेको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड खोप सन् २०२१ सम्ममा उपलव्ध हुने सम्भावना गाह्रो भएकोले अरु खोप रोज्नु भनेर कोभ्याक्सले पत्र पठाएको बताए । उनले भने, ‘केही खोपहरुका सूची आएको छ । ती मध्ये हामीले रोजेर भन्नुपर्ने हुन्छ । हामीले विज्ञसंग छलफल गरी पत्रको जवाफ लेख्दैछौँ ।’
उनले फाइजर, मर्डना, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनेकाको अन्य मुलुकका कम्पनीले उत्पादन गरेका खोप समेत प्रस्ताव आएको जानकारी दिए । ‘फाइजर माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ । मर्डना माइनस २० डिग्रीको छ । यी बाहेक अरु खोपहरु हाम्रा लागि नर्मल नै हुन् । त्यसैले उपयुक्त खोपको लागि नाम पठाउँछौँ, उनले भने।
पछिल्लो समय बेलायतको माथिल्लो सदनमा नेपालमा खोप पठाउने विषयमा छलफल हुँदा कोभ्याक्सले तत्कालै खोप पठाउनल लागेको हो कि भन्ने अनुमान भएको छ । तर कोभ्याक्सले नेपालबाट बैकल्पिक खोपको सूची नजाँदासम्म थप खोप पठाउने छैन् ।
कोभ्याक्सले नेपालको करीब २० प्रतिशत जनसंख्या अर्थात करीब ६० लाखलाई पुग्ने करीब १ करोड २० लाख डोज खोप निशुल्क उपलव्ध गराउने बताएको छ ।
सो सुविधा अन्तर्गत अहिलेसम्म ३ लाख ४८ हजार डोज मात्रै नेपाल आएको छ ।
सम्पर्क इमेल : [email protected]