कांग्रेसका नेता जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा


काठमार्डाँ, २५ फागुन । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उहाँको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उहाँ आफैँले ८–१० पटक श्वास फेरिरहेका छन् ।’

‘‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ’’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले भने । मस्तिष्कघात हुँदा रक्तस्राव भई उनको टाउकामा रगत जमेको थियो । यस्ता बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाइ छ ।

आज दिउँसो ३ बजेसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै जोखिमपूर्ण अवस्था रहेको अस्पतालले जनाएको छ । गत सोमबार बिहानबाट आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *