नविन्द्रराज जोशीको स्वास्थ्य : हिजोको तुलनामा सामान्य सुधार

काठमाडौँ, १५ फागुन । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था शुक्रबार (हिजो)को तुलनामा सामान्य सुधार देखिएको छ । यद्धपी चिकित्सकले अहिले पनि उनी खतरामुक्त नरहेको स्पष्ट पारेका छन् ।

उपचारमा सम्लग्न बरिष्ठ न्युरो सर्जन डा राजिव झाले जोशीको अवस्था अहिलेपनि गम्भीर र स्थिर रहेको बताए । तर दायाँ तर्फको हात खुट्टा सामान्य रुपमा चल्न थालेको उनले जानकारी दिए ।

‘हिजो कुनै अंग चलाउन सक्नु भएको थिएन तर आज दायाँ तर्फको हात खुट्टाहरु सामान्य रुपमा चलेका छन्,’ डा झाले अगाडी थपे, ‘त्यस अर्थमा मात्रै हिजोको तुलनामा सामान्य सुधार भएको भन्न सकिन्छ ।’

उनले जोशी अहिले पनि भेन्टिलेटरमै मै रहेको जानकारी दिए ।

पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहान २ः३० बजे नर्भिक अस्पताल पु¥याइएको र करीब ४ बजेतिर टाउकामा रगत जमेकाले शल्यक्रिया गरिएको थियो । अस्पतालका न्यूरो सर्जन डा  झा नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो ।

डा.  झाका अनुसार ‘उहाँ कोमामा हुनुहुन्थ्यो । श्वास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’ श्वास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । ‘उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

उनका अनुसार टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी)राखिएको छ । ‘टाउकोमा जमेको रगत अहिले सर्जरी गरेर निकाल्न मिल्दैन, त्यसलाई पातलो गराएर त्इहि इभिडीबाट निकाल्ने प्रयास हो हाम्रो,’ डा झाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *