पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई सोमबार देखि शुक्रबारसम्म खोप लगाईंदै
काठमाडौँ, २५ माघ । सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाबिरुद्धको खोप लगाउन शुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन् ।
‘पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ । खोप सम्भवत विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म चल्नेछ,’ मन्त्रालय स्रोतले भन्यो ।
मन्त्रालयले पत्रकारहरुको लागि सूचना विभागको प्रेस पास देखाउनु पर्ने बताएको छ । तर विभागको प्रेस पास नलिएका पत्रकारहरुलाई सम्वन्धीत मिडिया हाउसको प्रेसपास देखाएर पनि खोप लिन सक्ने व्यवस्था मिलाउने कि भन्ने विषयमा पनि छलफल चलेको एक जना अधिकारीले बताए ।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज खोपबाट कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।
सम्पर्क इमेल : [email protected]