पहिलो दिन ९ हजार भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप


काठमाडौँ, १४ माघ ।  खोप अभियानको पहिलो दिन देशभर ९ हजार भन्दा बढीले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमा प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेश मा २ हजार ६९४, गण्डकी प्रदेशमा १ हजार ८४३, लुम्बिनी प्रदेशमा ७ सय ३३, कर्णाली प्रदेशमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन्।

खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गरी जानकारी गराएका छन्।

काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायतमा बुधबार खोप अभियान सुरु गरिएको छ ।। यी अस्पतालहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी लगायत अन्य उच्च अधिकारीहरुले स्थलगत अनुगमन समेत गरेका थिए।

त्यसैगरी पहिलो खोप टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाएका हुन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा भर्चुअल विधिबाट  बिहान १० बजे कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ को शुभारम्भ गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *