स्वास्थ्यको प्रक्षेपण : अबको चार महिनामा थप तीन लाख संक्रमित हुन सक्छन्

1.3k
Shares

काठमाडोँ, २७ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवको चार महिनामा १ लाख ४८ हजार देखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिनसक्ने प्रक्षेपण गर्दै नयाँ कार्ययोजना बनाएको छ । मन्त्रालयको हेल्थ सेक्टर रेपिड एक्सन प्लान २ मा कात्तिक देखि माघ महिनासम्म सामान्य अवस्था रहेमा थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको हो ।

यसअघि असार देखि असोजसम्म अवस्था खराब हुँदा १ लाख ८० हजारसम्म संक्रमित हुने प्रक्षेपण गरिएको थियो । तर सो अवधीमा प्रक्षेपण गरिएको भन्दा संक्रमण केही कम भएको थियो । अहिले भने भने नेपालमा संक्रमित हुनेको संख्या २ लाख २ हजार २३९ पुगेको छ ।

मन्त्रालयका एक जना उच्च अधिकारीले सम्भावित खराब अवस्थाको अनुमान गर्दै आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए । उनले नयाँ एक्सन प्लानमा अबको चार महिनाका लागि थप ३२ अर्व ५१ करोड ८६ लाख १७ हजार बजेट आवश्यक पर्ने उल्लेख भएको समेत जानकारी दिए ।

सो बजेटको बाँडफाँड ६२ प्रतिशत संघ, २९ प्रतिशत प्रदेश र ९ प्रतिशत स्थानीय तहबाट खर्च हुने गरी मिलाइएको छ । यो बजेटमा परीक्षण र उपचारको सम्पूर्ण खर्च जस्तै एचडीयू, आइसीयू, भेन्टिलेटरको थप व्यवस्था, परीक्षण किट, उपचार, स्वास्थ्यसंस्थाको स्तरउन्नती, स्वास्थ्यकर्मीको तलव भत्ता लगायतका सबै खर्च समावेश भएको बताइएको छ ।

छठपछि कडा लकडाउन गर्न माग
यसैबीच काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा ल्याउन छठ पछि कडा लकडाउन गर्न उपत्यकाका नरपालिकाका मेयरहरुले प्रस्ताव गरेका छन् । बुधबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच उपत्यकामा फैलिएको कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

सो क्रममा मेयरहरुले कडा लकडाउन गरी परीक्षणलाई व्यापकता गर्न प्रस्ताव गरेका हुन् ।उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले छठ पछि कडा कम्तीमा दुई साता कडा लकडाउन नगरी नहुने निस्कर्षमा आफूहरु पुगेको बताए । उनले सोही प्रस्ताव सिसिएमसीसमक्ष राखेको जानकारी दिए ।

पछिल्लो दिनहरुमा नेपालमा कुल पीसीआर परीक्षणको औषत २५ प्रतिशत रिपोर्ट पोजेटिभ आउन थालेको छ । यो संक्रमण दर एसियाकै सबैभन्दा बढी हो । स्वास्थ्यका अधिकारीहरुले पछिल्लो समय उपत्यकामा समुदाय संक्रमण लेभल २ – ३ मा पुगेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले यो अवस्थामा लकडाउन गर्नैपर्ने बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *