बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम यसपटक मंसिरमा

काठमाडौँ, १७ असोज । हरेक बर्ष कात्तिकको २ र ३ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्तको पहिलो चरण यसपटक मंसिर हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखाले यसपटक ११ र १२ मंसिरमा पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने दिन तोकेको छ ।
शाखाका प्रमुख केदार पराजुलीले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तगर्त आगामी ११ र १२ मंसिरमा पाँच बर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको बताए ।
छ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक बर्ष देखि पाँच बर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरेको छ । सोही बेला बालबालिकाको पाखुराको नाप लिइने र त्यहिबेला १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाइने कार्यक्रम छ ।
‘हरेक बर्ष कात्तिक २ र ३ गते पहिलो चरण र बैशाखको ६ र ७ गते दोस्रो चरणमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने गर्दथ्यो । यसपटक कोरोना महामारीका कारण बैशाखको कार्यक्रम असारमा सरयो । र यता कात्तिकको नियमित तालिकामा समेत दशैं शुरु भईसक्ने भएकोले हामीले मंसिरमा यो कार्यक्रम लगेका हौँ,’ पराजुलीले भने ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि खुवाइदै आएको छ ।
त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

