पाल्पा : संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा

4
Share


पाल्पा, १ असोज । तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।

घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । वडावडाका स्वास्थ्यचौकीबाट बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरी स्वास्थ्यमा नागरिकको सहज पहुँच विस्तार गर्न थालिएको उनले बताए ।

प्रदेशसभा सदस्य तुलाराम घर्तीले बर्थिङ सेन्टर र प्रयोगशालाको मङ्गलबार उद्घाटन गरेपछि दुवै सेवा सञ्चालनमा आएका हुन । सो अवसरमा प्रदेशसभा सदस्य घर्तीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच विस्तार भएको बताए । प्रदेश सरकारको रु १० लाखको लगानीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रसूति सेवा उपलब्ध हुन थालेपछि सामान्य औषधि उपचार र प्रसूतिका लागि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत प्रसूति सेवा सञ्चालनले गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । उनले अनिवार्य रुपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिन महिलालाई अनुरोध गरिन् ।

तिनाउ गाउँपालिका–२ का अध्यक्ष एवं स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा लिन सबै नागरिकलाई अनुरोध गरे। यो स्वास्थ्य संस्थाबाट तिनाउ गाउँपालिकाको मस्याम, झुम्सा, सत्यवती क्षेत्रका महिलाले प्रसूति सेवा लिने वडाध्यक्ष श्रेष्ठले बताए ।

ल्याब सञ्चालनले स्थानीयवासीलाई सहज

प्युठानका पालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । सरुमारानी गाउँपालिकाले पालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरेको छ । स्थानीय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आर्थिक वर्ष ०७६÷०७७ को मङ्सिर महिनादेखि सेवा सञ्चालनमा ल्याइएको हो ।

पालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन, सामुदायिक स्वास्थ्य एकाइ एक र स्वास्थ्य चौकी तीन वटा गरी कूल सात वटा स्वास्थ्य संस्था रहेका छन् । त्यसमध्ये वडा नं १ को बाङ्गेशाल स्वास्थ्य चौकी, वडा नं। ३ को हंसपुर स्वास्थ्य चौकी र वडा नं. ५ को ढुङ्गेगढी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए।

ग्रामीण क्षेत्रमा उपलब्ध गराइएको ल्याब सेवाले यस क्षेत्रका स्थानीयवासीलाई सहज भएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ल्याब सञ्चालनमा आइसकेपछि सामान्य रोगको ल्याब परीक्षणका लागि बिजुवार, दाङको भालुवाङलगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको छ । सामान्य परिवारका व्यक्ति बिरामी भएमा ल्याब टेस्टबिनानै औषधि सेवन गर्ने अवस्था पनि हटेको अध्यक्ष विश्वकर्माले बताए । यस क्षेत्रका स्थानीयवासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, आर्थिक बचत गर्न, समयको बचत गर्न र छिटो छरितो सेवा दिनका लागि सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

ल्याबमा सुगर, ब्लड, दिसा, पिसाब, युरीक एसिड, मिर्गौला, क्षयरोग, कलेजो, टाइफाइडलगायतका रोग लागे/नलागेको जाँच हुने गर्दछ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५६ जनाले ल्याब सेवा लिएका छन् । बाङ्गेशाल स्वास्थ्य चौकीबाट २६१ महिला र १४३ पुरुष गरी कूल ४०४ जना, हंसपुर स्वास्थ्य चौकीबाट १०९ महिला र ५२ पुरुष गरी कूल १६१ जना र ढुङ्गेगढी स्वास्थ्य चौकीबाट १३४ महिला र ५७ पुरुष गरी कूल १९१ जनाले ल्याब सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म बाङ्गेशाल स्वास्थ्य चौकीबाट ८८ महिला र ५४ पुरुष गरी कूल १४२ जना, हंसपुर स्वास्थ्य चौकीबाट ५५ महिला र २८ पुरुष गरी कूल ८३ जना तथा ढुङ्गेगढी स्वास्थ्य चौकीबाट ८० महिला र ३० पुरुष गरी कूल १३० जनाले ल्याब सेवा लिएका छन् । गर्भवती महिला, मलेरीया, क्षयरोग र डेङ्गु रोगको ल्याब जाँचका लागि निशुल्क सेवा दिइरहेको बताइएको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयम्सेविकाका लागि परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ भने अन्य जाँचका लागि शुल्क लिने गरिएको छ । गाउँमै ल्याब सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीयवासीलाई फाइदा पुगेको सरुमारानी–३ हंसपुर चाभाकी आशा विकले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *