आत्महत्या रोकथाम कसरी गर्न सकिन्छ ? कोशिशले चलायो छलफल
काठमाडौँ, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ पारी मानसिक स्वास्थ्य एवं मनोसामाजिक क्षेत्रमा काम गर्ने संस्था कोशिशले बुधबार पत्रकार अन्तरक्रिया कार्यक्रम गरेको छ । कोरोना महामारीका कारण भर्च्युअल रुपमा गरिएको कार्यक्रममा विज्ञहरुले आत्महत्या रोकथामका लागि गर्नुपर्ने काम र मिडियाको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
उनीहरु विशेषगरी आत्महत्याको घटना र त्यसलाई समाचारमा प्रस्तुत गर्दा पुरयाउनुपर्ने ध्यानका विषयमा मिडियाहरु सचेत र संवेदनशील हुनुपर्ने बारेमा औल्याएका थिए । ।
छलफल कार्यक्रममा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले आत्महत्याका घटना बढ्दै गएको भन्दै आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्ने र उचित मनोसामाजिक परामर्श सेवा दिन आवश्यक भएको बताए । उनले सरोकारवाला सबै निकायले आ आफनो स्थानबाट आत्महत्या न्यूनीकरण गर्नका लागि मनो सामाजिक परामर्श लगायतका कार्यक्रम चलाउन आवश्यक भएको बताए ।
यसैगरी कार्यक्रममा मनोचिकित्सक डा दिपक कुँवरले आत्महत्याको समस्यालाई सबै मिलेर कम गर्न सकिने भए पनि यसमा आउने समस्याबारे खुलेर कुरा गर्न नसक्दा अप्रिय घटना हुने गरेको बताए । उनले आत्महत्या तथा मानसिक स्वास्थ्यका समाचार लेख्दा संवेदनशिल नभएमाा यसले उल्टो यस्ता घटनालाई बढावा दिने हुँदा यसबारे बुझेर मात्र समाचार दिनुपर्ने बताए ।
एउटा अध्ययनमा एक जना सेलिब्रेटीले आत्महत्या गरेपछि आउने समाचारका कारण १३ प्रतिशतसम्म आत्महत्या बढ्ने गरेको तथ्य उल्लेख गरे ।
कार्यक्रममा अवकाशप्राप्त डिआईजी पिताम्बर अधिकारीले नेपालमा आत्महत्याका घटना सिधै प्रहरीसँग जोडिने भएकाले पनि यसको रेकर्ड प्रहरीसँग हुने तर किन आत्महत्या बढिरहेको छ भन्ने कारण नहुने हुँदा यस्ता कारणबारे छलफल गरेर यसलाई न्यूनिकरण गर्न तर्फ स्पष्ट कार्यक्रम लिएर जानुपर्ने बताए ।
नेपालमा कोरोना महामारीपछिको ५ महिने लकडाउन अवधीमा २ हजार बढी मानिसले आत्महत्या गरेका छन् । कोशिसका अनुसार चैत १० देखि साउन ४ गतेसम्म २ हजार २१८ जनाले आत्महत्या गरेका छन् ।
विश्वमा हरेक बर्ष ८ लाख बढी मानिसले आत्महत्य गरी ज्यान गुमाउने गर्दछन् ।
हरेक वर्षको सेप्टेम्बर १० का दिन विश्वभरी आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ रहेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

