स्वास्थ्यकर्मीको करार अवधी : मन्त्रालयले भन्यो छ महिना थप्नु, वीरले थप्यो दुई महिना मात्र
काठमाडौँ, २० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका कारण असार मसान्तमा करार अवधी सकिएका चिकित्सक नर्स तथा अन्य प्यारामेडिक्सहरु जो अस्पतालका लागि खाँचो छ, उनीहरुको म्याद पुस मसान्तसम्म थपेर काम लिन सम्वन्धित अस्पतालहरुलाई निर्देशन दिएको छ । तर, वीर अस्पतालले भने त्यस्ता कर्मचारीको करार अवधी दुई महिना मात्रै थप गरेको छ ।
‘अस्पतालसंग पैसा छैन् । सित्तैमा काम लगाउने कुरा भएन् । त्यसैले हामी बाध्य छौँ, दुई महिना भन्दा बढी थप्न गाह्रो भो,’ अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने । उनले कोरोना महामारीसंगै अस्पतालको आम्दानी घट्दा करारमा काम गर्ने कर्मचारीलाई मन्त्रालयले भने अनुसार करार थप गर्न नसकिएको स्वीकारे ।
तर करारमा काम गर्ने अस्पतालका स्वास्थ्यकर्मीहरुले भने यसमा विरोध गरेका छन् । ‘बर्षौ देखि काम गर्दै आएका छौँ । पछिल्लो छ महिना देखि कोभिड – १९ को जोखिम मोलेर काम गरिरहेका छौँ । यहि अवधिमा कत्ति साथीहरु कोरोना संक्रमणमा समेत पर्नुभयो । ज्यानको बाजी लगाएर सेवा गरिरहेका हामीलाई यस्तो बेलामा दुई महिने चिठी थमाएर पाइन्छ ? यसमा हाम्रो कडा आपत्ति छ,’ एक जना नर्सले भनिन् ।
निर्देशक डा सेन्चुरीले सामान्य अवस्थामा दैनिक १२ लाख आम्दानी हुने अस्पतालको अहिले एक डेढ लाख मात्रै हुने भन्दै यसले तलव खुवाउन मुस्किल परेको बताए । उनले अहिलेको विसम परिस्थितमा मन्त्रालयले सहयोग गरेन भने कर्मचारीलाई निरन्तरता दिन नसकिने समेत जानकारी दिए ।
वीरमा करारका कर्मचारी नभए पनि सेवा चल्न सक्छ त ? भन्ने प्रश्नमा भने डा सेन्चुरीले त्यो सम्भव नहुने बताए । ‘करार नथपे त सेवा सञ्चालन गर्न मुस्किल हुन्छ । तर हामी बाध्य छौँ । पैसा छैन् ।’
ती नर्सले भने न्याम्स अन्तरगर्तकै राष्ट्रिय ट्रमा सेन्टरमा आफूहरु जस्तै करारमा काम गर्ने स्टाफको करार अवधी ६ महिना थपेको भन्दै वीरले आफूहरुलाई हेला गरेको बताइन ।
त्यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड – १९ को उपचार गर्ने मुख्य अस्पतालको रुपमा जिम्मेवारी दिन लागेको छ । वीरबाट हुने सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने गरी तयारी भइरहेको छ ।
सम्पर्क इमेल : [email protected]