मनमोहन अस्पतालको आकस्मिक कक्षमै ग्याङ फाइट, घाइते सहित स्वास्थ्यकर्मी कुटिए

सीसी क्यामेरामा कैद आकस्मिक कक्षमा झड्पको दृश्य

काठमाडौँ, १९ भदौ । बिहीबार राती स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको छ । आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेकुरिटी गार्ड कुटिएका छन् । तोडफोड र कुटपिट पछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । सो क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुटने समूहको एक जना युवा पक्राउ परेपछि सोही समूहका अरु तीस चालिस जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालका निर्देशक डा धर्म सुवेदीले बताए ।

‘दुई समूहबीचको झगडा रहेछ । बाहिरै लडेका रहेछन् । एउटा समूहको पाँच जना घाइते भएपछि हामीकहाँ उपचारका लागि ल्याइएको थियो । सोही घाइतेलाई कुटन राती अर्को समूह आयो । आकस्मिक कक्षमा भिडन्त भयो । मेडिकल उपकरण तोडफोड गरियो । उपचारमा सहभागी डाक्टर नर्स तथा अन्य कर्मचारी, सुरक्षा गार्डमाथि समेत आक्रमण भयो,’ निर्देशक सुवेदीले भने ।

अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरुले आकस्मिक सेवा बन्द गरेको उनले बताए ।

अस्पतालमा राती नौ बजे ३० – ४० जनाको समूह आएर करीब डेढ घण्टा वितण्डा मच्चाएको अस्पतालका सेक्युरिटी इन्चार्ज महेन्द्र पाठकले बताए । अस्पतालमा ४ – ५ जना प्रहरी रहेपनि उनीहरुले नियन्त्रण लिन नसकेपछि थप जनपद र सशस्त्र प्रहरी बल मगाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी आएपछि मात्रै उनीहरु भागेको पाठकले जानकारी दिए ।

झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ ।

कोरोना महामारी र जारी निषेधाज्ञामा भलिवल खेल खेलाउनु आफैमा गैरकानूनी काम थियो । त्यसबाहेक घाइतेको उपचार भएको अस्पतालमै गएर आक्रमण गर्नु झनै गैरकानूनी काम देखिएको छ । महामारीकाबीच आफ्नो ज्यानको पर्वाह नगरी स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था माथि नै यसरी आक्रमण हुनु निकै दुखद कुरा हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *