यसैबर्ष देखि नवजात शिशुलाई ‘भिटामिन-के’ दिइदै
काठमाडौँ, १३ भदौ । सरकारले यसै आर्थिक बर्ष देखि नवजात शिशुका लागि ‘भिटामिन -के’ पनि दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले यसै आर्थिक बर्ष देखि साढे ६ लाख नवजात शिशुका लागि भिटामिन -के दिइने भएको जानकारी दिए ।
भिटामिन के भर्खरै जन्मेको नवजात शिशुमा सुईद्धारा दिइन्छ ।जन्मेपछि आमाको दुध खाएपछि सुईद्धारा दिइने हो । तर नेपालमा सतप्रतिशत संस्थागत सुत्केरी भई नसकेकोले जन्मेको २८ दिनसम्म दिन सकिने गरी कार्यविधि बनाइएको छ ।
‘रगत जमाउने तत्व बनाउन भिटामिन के चाहिन्छ । भर्खरै जन्मेका कतिपय शिशुमा भिटामिन के को कमि हुँदा कतिपयमा चोटपटक लागी रक्तश्राव हुँदा नरोकिने समस्या समेत हुनसक्ने बताइने गरेको छ । त्यसैले हामीले जन्मेर आमाको दुध खानासाथ शिशुलाई भिटामिन -के सुई लगाइदिने भनेका हौँ । तत्कालै सम्भव नभएकाले २८ दिन भित्रै लगाउन भनेका छौँ,’ डा गौतमले भने ।
यो कार्यक्रमका लागि परिवार कल्याण महाशाखा अन्तरर्गतको मातृ तथा नवजात शिशु स्वास्थ्य शाखाले भिटामिन के सुई, म्याग्नेसियम सल्फेट सुई, क्ल्यासियम ग्लुकोनेट र अक्सिटोसिन तथा मातृ सुरक्षा चक्की किन्नको लागि भन्दै प्रदेशहरुमा एकमुष्ट रुपमा प्रदेश १ मा ३८ लाख ५४ हजार, प्रदेश २ मा ४२ लाख ६६ हजार, बागमती प्रदेशमा ५४ लाख ८३ हजार रुपैयाँ बजेट पठाएको छ । यस्तै गण्डकी प्रदेशमा २७ लाख ७३ हजार र सुदूरपश्चिम प्रदेशमा ३८ लाख ३० हजार रुपैयाँ पठाएको छ । प्रदेशले सोही रकमबाट खरीद गरी स्थानीय तहलाई उपलव्ध गराइने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]