भरतपुर अस्पतालको आइसोलेसनबाट भागे एक कोरोना संक्रमित
चितवन, ९ भदौ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।
निषेधाज्ञामा टोलटोलमा रक्तदान
जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।
मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५÷१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उनले बताए । मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उनले जानकारी दिए ।
मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरी मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भने, “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।” अभियानअन्तर्गत आज गैँडाकोटमा रक्तदान कार्यक्रम गरिँदै छ । यसअघि लकडाउनको समयमा मञ्चले बटुवा र अस्पतालमा रहेकालाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भएपछि रक्तदान अभियान शुरु गरिएको हो ।
रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको बताए । उनले भने, “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौँ ।” यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हँुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उनले बताए । पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ ।
कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ । कोरोना त्रासका कारण विगतमा रक्तदान गर्नेहरुसमेत अहिले डराएका छन् । रासस
सम्पर्क इमेल : [email protected]