त्रिवि शिक्षण अस्पतालका ७० जना स्टाफमा कोरोना तर सेवा निरन्तर
काठमाडौँ, ५ भदौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा अन्य कर्मचारी गरी ७० जना कोरोना संक्रमणमा परेका छन् । तर, अस्पतालको सेवा भने नियमित रुपमा सञ्चालन हुँदै आइरहेको छ ।
‘गत साता आकस्मिक कक्ष केही दिन बन्द गरियो नत्र सबै सेवा सुचारु छ । आजै पनि ओपिडी चल्यो, शल्यक्रिया भएको छ, आकस्मिक कक्ष सञ्चालनमै छ,’ अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले भने । उनले विभिन्न उपाय अपनाएर सेवाहरुलाई निरन्तरता दिएको बताए ।
‘धेरै विरामी आउने ठाँउ, धेरै स्टाफ भएको अस्पताल, जोखिम त उत्तिकै भयो । केही स्टाफलाई संक्रमण देखिएपछि हामीले कन्ट्याक्ट ट्रेसिङलाई चुस्त बनायौँ, अनिवार्य रुपमा क्वारेन्टिनमा राख्यौँ र सबैको पीसीआर गरयौँ । त्यसले संक्रमितहरु पनि भेटियो । र अहिले भनिएको ७० जना पहिले देखिएको संख्या हो,’ उनले भने ।
अस्पतालका कोभिड-१९ युनिट प्रमुख प्रााड शान्तकुमार दासले अहिलेसम्म अस्पतालका १३ जना चिकित्सक संक्रमण परेको बताए । बाँकी नर्स, प्यारामेडिक्स तथा अन्य विधाका स्वास्थ्यकर्मी तथा कर्मचारी रहेको बताए । उनले ७० जना भएपनि झण्डै २५ भन्दा बढी स्टाफहरु कोरोना जितिसकेको बताए । ‘अहिले एक्टीभ केशको संख्या ४० ४५ जना हो । बाँकी त निको भइसक्नु भएको छ,’ उनले भने ।
निर्देशक प्राडा पोखरेलले कोरोना जितेर कतिपय स्वास्थ्यकर्मीहरु फर्केर डिउटीमा सहभागी भईसकेको जानकारी दिए । उनले संक्रमित आफ्ना स्टाफहरुलाई सम्भव भएसम्म घरकै आइसोलेसनमा बस्न भनिएको र लक्षण देखिएकाहरुलाई अस्पतालमा ल्याएर उपचार गरिएको बताए ।
त्रिवि शिक्षण अस्पतालमा पछिल्लो समय देशका विभिन्न भागबाट कोरोनाका गम्भीर विरामीहरुलाई उपचारका लागि ल्याइने गरिएको छ । अस्पतालले शुरु गरेको प्लाज्मा थेरापीबाट गम्भीर अवस्थाका तीन जना बिरामीमा चमत्कारिक सुधार भएपछि अस्पतालमा बाहिरबाट आउनेहरुको संख्या बढ्न थालेको छ ।
सम्पर्क इमेल : [email protected]