स्तनपानको अवस्था बुझ्न उच्चस्तरीय टोली अस्पताल अनुगमनमा

48
Shares

काठमाडौँ, १९ साउन । जनप्रतिनिधि र सरकारी उच्च अधिकारीसहितको टोली स्तनपानको अवस्था बुझ्न सोमबार विहान राजधानीका दुईवटा अस्पताल पुगेको छ । टोली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र चावहीलस्थित ओम अस्पताल पुगको हो ।

संघीय सांसद एवं संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका जीवनराम श्रेष्ठको उपस्थिति रहेको टोलीमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह तिंकरी, पोषण शाखा प्रमुख केदार पराजुली, खोप शाखा प्रमुख झलक शर्मा गौतम तथा हेलेन केलर इन्टरनेशनलका प्रतिनिधिहरुको सहभागिता थियो ।

उनीहरुले दुबै अस्पतालका लेवर रुम, गाइने वार्ड तथा बर्थिङ सेन्टरको अवलोकन गरेका थिए । सो क्रममा उनीहरुले नवजात शिशुका आमाहरुसंग स्तनपानको अवस्था बुझेका थिए भने स्तनपानको महत्वबारेमा बुझाएका थिए ।

‘अस्पतालमा सुत्केरी भएका आमाहरुमा स्तनपानबारेमा समस्या देखिएन । अस्पतालका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीले बुझाएकोले पनि हुनसक्छ सबै सचेत नै भएको पाइयो,’ परिवार कल्याण महाशाखाका निर्देशक डा तिंकरीले भने ।

विश्व स्तनपान सप्ताह मनाउने क्रममा महाशाखाले गत शुक्रबार देखि नै विविध कार्यक्रम गर्दै आएको छ । यसक्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अगुवाईमा टोलीले परोपकार प्रसूति अस्पताल र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा अनुगमन गरेको थियो ।

पोषण शाखा प्रमुख पराजुलीले अनुगमन गर्नुको मुख्य उद्धेश्य स्तनपानको प्रवद्र्धन गर्नु रहेको बताए । ‘शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराई सक्नु पर्ने हो तर नेपालमा अहिले पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधी भित्र स्तनपान गराएको पाइदैन्, यसलाई चिर्नुपर्ने छ । यसैका लागि हामीले सप्ताह व्यापी जनचेतनामुलक कार्यक्रम गरिरहेका हौँ,’ उनले भने ।

नेपालमा स्तनपानको अवस्था

शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराई सक्नु पर्ने हो तर नेपालमा अहिले पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधी भित्र स्तनपान गराएको पाइदैन् ।

जन्मेको एक घण्टा भित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो नम्बरमा छ । यो सूचीको पहिलो नम्बरमा श्रीलंका छ । जहाँ ९० सुत्केरीले जन्मेको एक घण्टा भित्रै शिशुलाई स्तनपान गराउँछन् । त्यसपछि भुटान ७८ प्रतिशत, तेस्रो मालदिव्समा ६१ प्रतिशत रहेको छ ।

नेपालमा भने ५५ प्रतिशत सुत्केरी आमाहरुले एक घण्टा भित्र आफ्ना शिशुहरुलाई स्तनपान गराउँछन् ।

नवजात शिशुको लागि अर्को महत्वपूर्ण मानिने ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ अर्थात ६ महिनासम्म आमाको दुधबाहेक केही नखुवाउने सार्कका देशहरुमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको श्रीलंकामा छ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ८२ प्रतिशत छन् ।

दोस्रो स्थानमा रहेको नेपालमा ६ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ६६ प्रतिशत छन् ।

जन्मेको दुई बर्षसम्म शिशुलाई दुध चुसाउनेको सूचीमा सार्क देशहरुमा नेपाल पहिलो छ । नेपालका ८२ प्रतिशत आमाहरुले बच्चालाई कम्तिमा  दुई बर्षसम्म स्तनपान गराउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *