डाक्टर, सेना, प्रहरी र कैदी सहित ३४ जनामा कोराना संक्रमण
वीरगञ्ज, १४ साउन । वीरगञ्जमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । नारायणी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ३४ जनामा संक्रमण देखिएको हो ।
नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार संक्रमितहको उमेर २ देखि ६५ बर्ष उमेर समूहको छ । उनले संक्रमण देखिएका ३४ जनामध्ये १० जना महिला भएको जानकारी दिए । यस्तै सातवर्ष मुनिका संक्रमित बालबालिकाको संख्या ५ रहेको बताए ।
बुधबारको परीक्षणमा एक जना नेपाली सेना, तीन जना जना प्रहरी र छ जना कैदीवन्दीमा समेत कोरोना देखिएको छ । कारागारका दुई जना कारागारका कर्मचारीमा पनि संक्रमण देखिएको छ । डा उपाध्यायले नारायणी अस्पतालकै एक जना चिकित्सकलाई समेत संक्रमण देखिएको बताए ।
कोभिड -१९ अस्थायी अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार संक्रमितहरु कोही कन्ट्याक टेसिङबाट भेटिएका र कोही सशुल्क परीक्षण गराउँदा भेटिएकाहरु हुन् ।
मेसु डा उपाध्यायले ५० बेडको कोभिड १९ अस्थायी अस्पतालमा अहिले ६३ जना राखिएको र त्यसमध्ये ५ जना आइसीयूमा रहेको जानकारी दिए । आइसीयूमा रहेका एक जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
डा उपाध्यायले अस्पतालमा क्षमता नभएपछि पछिल्लो तीन दिन यता कुनै पनि संक्रमितलाई अस्पतालमा राख्न नसकिएको समेत जानकारी दिए । उनले भने,’ ‘हिजो मात्रै ५२ जना आज ३४ जना गरी ८६ जना त अस्पताल बाहिर नै रहेका छन् । अस्तीको समेत संख्या जोडदा त्यो संख्या अझ बढछ ।’
सम्पर्क इमेल : [email protected]