मस्तिष्क मृत्यु पछिको अंगदानमा किन भयो सुस्तता ? कारण खोज्दै विज्ञहरु

244
Shares

काठमाडौँ, २ चैत । नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछिको अंगदान कार्यक्रमले अपेक्षाकृत गति नलिएपछि विज्ञ तथा सरोकारवालाहरुले कारण खोज्न थालेका छन् ।

तीन बर्ष अघि अर्थात १६ मंसिर २०७३ मा बसेको मन्त्रिपरिषद बैठकले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ पास गरेको थियो । सो नियमावलीले मस्तिस्क मृत्यु भएका व्यक्तिबाट अंग झिक्न र प्रत्यारोपण गर्न मिल्ने बाटो खोलेको थियो । तर त्यसयताको अवधीमा अहिलेसम्म ब्रेन डेथ भएका दुई जना व्यक्तिको मात्रै अंग झिकिएको छ ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अघिल्ला दुई बर्षमा दुईवटा ब्रेन डेथ भएका व्यक्तिबाट झिकिएको मिर्गौला ४ जनामा सफल प्रत्यारोपण गरेको थियो ।

प्रत्यारोपण केन्द्रकै अगुवाईमा शनिबार भएको कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरुले मस्तिस्क मृत्यु पछि अंगदान गर्ने र प्रत्यारोपणमा हुने कार्यक्रमले किन गति लिएन भनेर छलफल गरेका थिए । सो क्रममा उनीहरुले चिकित्सक तथा अस्पतालबीच समन्वयको अभाव र जनचेतनाको अभाव मुख्य कारक भएको निस्कर्ष निकाले ।

कार्यक्रमको संयोजन गरेका केन्द्रका निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले नेपालमा अंग प्रत्यारोपण सम्वन्धी कानून, यसको कार्यान्वनयको अवस्था तथा मस्तिस्क मृत्यु र अंगदानको अवस्थाबारे जानकारी गराएका थिए । उनले प्रत्यारोपण सम्वन्धी कार्यमा भएको प्रगति जस्तो मस्तिस्क मृत्युपछि अंगदान दिने प्रक्रिया अघि नबढेको बताए । उनले मृत्युपर्यन्त अंगदान गर्ने सोचको विकास गर्नु जरुरी हरेको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले धार्मिक आस्था तथा सामाजिक मान्यताका कारण अहिले पनि सहज रुपमा मस्तिस्क मृत्युपछि अंगदान गर्न ईच्छुक नदेखिएको, जनचेतना अभिवृद्धि नभएको कारण बताए ।

स्वास्थ्य मन्त्रालयका कानूनका उपसचिव पुस्करराज नेपालले अंग प्रत्यारोपण गर्न अनुमति पाएका अस्पतालबीचको अस्वस्थ प्रतिस्पर्धा, ती अस्पतालबीच्को समन्वय अभावका कारण यो कार्यक्रमले गति लिन नसकेको ठोकुवा गरे । ‘आफू आफूमै एकता छैन, कसैले अंग दिन अघि सरेपनि अस्पतालबीच विवाद हुँदो रहेछ । यसरी त कार्यक्रम कसरी अघि बढछ ?,’  प्रतिप्रश्न गर्दै उनले भने ।

मिर्गौला रोग विशेषज्ञ डा रजनी हाडा चिकित्सक तथा अस्पतालहरुबीच नै पनि कम्युनिकेशन ग्याप भएको बताइन । उनले भक्तपुरस्थित समन्वय केन्द्रलाई समन्वय इकाई तोक्दा कतिपय अस्पताल र चिकित्सकहरुको बुझाई त्यो त्यहि केन्द्रका लागि मात्रै हो कि भन्ने भ्रम रहेको समेत औल्याइन ।

स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले लाइभ डोनरबाट अंग झिकि प्रत्यारोपण गर्ने कार्यमा नेपालले जुन फडको मारेको छ त्यहि गतिमा अव मस्तिस्क मृत्यु भएका व्यक्तिबाट अग झिकेर प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको भन्दै यसलाई अघि बढाउन सर्वपक्षीय समन्वय र एकताको खाँचो रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन प्राडा जगदीश अग्रवालले ब्रेन डेथपछिको अंगदान र प्रत्यारोपण कार्यक्रमले किन गति लिएन भनेर सोच्ने बेला आएको बताए । उनले कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको उच्च तहबाट समेत विशेष भूमिका हुनुपर्ने बताए ।

नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालले मस्तिस्क मृत्युपछि अंगदान दिने कार्य अघि नबढ्नुमा जनचेतनाको अभाव प्रमुख रहेको बताए । उनले एपोनले गतवर्ष देखि सो अभियानमा हातेमालो गरेको समेत जानकारी दिए । उनले मस्तिस्क मृत्युपछिको अगदान गर्ने प्रत्यारोपण गर्ने कार्य भारतमा पनि राम्रो भएको भन्दै सकारात्मक कामका लागि सिको गर्न आग्रह गरे ।

कार्यक्रममा नेपालको अंग प्रत्यारोपण कार्यक्रमलाई नजिकबाट नियालेका र सहयोग गर्दै आएका बेलायतस्थित फ्रिम्यान अस्पतालका बरिष्ठ प्रत्यारोपणविज्ञ प्राडा डेभिड टोल्बटले ब्रेन डेथ पछिको अंगदान र प्रत्यारोपणको बारेमा आफ्नो देशमा भएको व्यवस्था र अनुभव सुनाएका थिए । उनले नेपालको मिर्गौला र पछिल्लो समय कलेजो प्रत्यारोपणले गति लिएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा डा बरिष्ठ न्युरो सर्जन डा प्रविण श्रेष्ठ, डा राजिव झा, मिर्गौला रोग विशेषज्ञ सुदीप आचार्य लगायतले आफ्ना धारणा राखेका थिए ।

एक जना मस्तिस्क मृत्यु भएको व्यक्तिबाट दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुटु, कलेजो, प्यांक्रियाज, र सानो आन्द्रा गरी ८ वटा अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ । त्यसबाहेक आँखाको नानी तथा छाला लगायतका अंगहरु समेत दान तथा प्रत्यारोपण गर्न सकिन्छ ।

नेपालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसहित वीर अस्पताल काठमाडौँ, त्रिवि शिक्षण अस्पताल काठमाडौँ, ग्राण्डी अस्पताल काठमाडौँ, निदान अस्पताल ललितपुर, सुमेरु अस्पताल ललितपुरले मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् ।

उपत्यका बाहिर कलेज अफ मेडिकल साइन्सेज भरपुर र चितवन मेडिकल कलेज भरतपुरले पनि मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि अनुमति पाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *