चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३०४ पुग्यो
एजेन्सी । चीनमा नयाँ कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ३०४ पुगेको छ । चीनको स्वास्थ्य आयोगका अनुसार शनिबार २ हजार ५९० जनामा नयाँ संक्रमण भएको बताइएको छ ।
आयोगले अहिलेसम्म चीनका सबै प्रान्तमा गरी १४ हजार ३८० जनामा नयाँ कोरोना भाइरसको संक्रमण भएको बताएको छ । सो मध्ये १ हजार ९२१ वटा नयाँ केश कोरोना भाइरसको उदगमस्थल हुवे प्रान्तकै भएको उसले स्पष्ट पारेको छ । शनिबारसम्म १ हजार ११८ केश गम्भीर र ४४४ केश अति गम्भीर रहेको पाइएको बताएको छ ।
यता चिनियाँ अनुसन्धानकर्ताहरुले हुवे प्रान्तमा मात्रै ७५ हजार बढीमा इन्फेक्सन भएको अनुमान गरेका छन् ।
चीनमा संक्रमण र मृत्युहुने दर गुणात्मक रुपमा बढदै गएपछि विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने अभियान शुरु गरेका छन् ।
अमेरिका, युरोपियन युनियन, अष्टेलिया, सिंगापूर लगायतका मुलुकले चिनियाँ नागरिकलाई आफ्नो देशमा प्रवेश निषेध गरेका छन् । ती देशहरुले अन्य देशका नागरिकलाई पनि यदि पछिल्लो समय चीन गएको रहेछ भने प्रवेश निषेध गरिएको जनाएका छन् ।
यता विश्व स्वास्थ्य संगठनले भाइरसको प्रकोप अन्य मुलुकमा पनि देखिने क्रम बढदै गएको भन्दै गत विहीबारबाट ग्लोबल हेल्थ इमरजेन्सी लागू गरेको छ ।
सम्पर्क इमेल : [email protected]