थप दुईवटा निजी मेडिकल कलेजले पाए कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स
काठमाडौँ, ३१ बैशाख । थप दुईवटा निजी मेडिकल कलेजले कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स पाएका छन् । लाइसेन्स पाउने दुबै मेडिकल कलेज उपत्यका बाहिरका हुन् ।
स्वास्थ्य सेवा विभाग अंगप्रत्यारोपण समन्वय समितिको सचिवालयका अनुसार कलेजो प्रत्यारोपण गर्ने अनुमति पत्र (लाइसेन्स) पाउनेहरुमा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर र चितवन मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर रहेका छन् । यी दुबै कलेजले यसअघि मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाइसकेका थिए ।
गत १६ बैशाखमा बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले यी दुई मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स दिएको हो ।
यो संगै नेपालमा कलेजो प्रत्यारोपण गर्ने संस्था चार पुगेको छ । यसअघि भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पाइसकेका छन् । भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ ।
अंग प्रत्यारोपण समन्वय समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक डा गुणराज लोहनीले कलेजो प्रत्यारोपण गर्न पाउ भन्दै दिएको दरखास्त उपर जाँचबुझ तथा स्थलगत अनुगमन प्रतिवेदनका आधारमा लाइसेन्स दिने निर्णय गरेको बताए । उनले जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको हिसावमा सक्षम रहेको पाएपछि लाइसेन्स दिइएको स्पष्ट पारे ।

त्यसो त पुरानो मेडिकल कलेजले करीब ४ बर्ष अघि अर्थात सन् २०१५ मै मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएको थियो ।

चितवन मेडिकल कलेजले मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने लाइसेन्स एकै पटक पाएको हो । सीएमसीलाई मिर्गौला प्रत्यारोपण गर्ने लाइसेन्स समेत १६ बैशाखमै बसेको प्रत्यारोपण समितिको बैठकले निर्णयले गरेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



