नर्सिङ संघको केन्द्रीय कार्यालयमा नर्सहरुको ताला, पदाधिकारी आए फुटाइदिए
काठमाडौँ, २३ बैशाख । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको एउटा समूहले आइतबार बेलुका नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा लगाएको ताला फोडिएको छ । प्रहरीको सहयोगमा संघका पदाधिकारीहरुले ताला फोडेका हुन् ।
यद्धपी यतिवेला दुबै पक्ष संघकै कार्यालयमा बार्तामा बसेको बुझिएको छ ।
लोकसेवा आयोगले प्रत्यारोपण केन्द्रका कर्मचारी स्थायी गर्ने प्रक्रिया अघि बढाएपछि नर्सहरु आन्दोलित भएका हुन् । उनीहरुले सकेसम्म स्वत स्थायी नभए आन्तरिक प्रस्पिर्धा तर त्यसमा अनुतिर्ण भएपनि अस्थायी जबको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् ।
उनीहरुले अहिलेको स्थायी प्रक्रियामा कतिपय विषय नमिलेको भन्दै स्थगित गर्न समेत माग गरेका छन् । तर नर्सिङ संघका अधिकारीहरुले नमिलेको विषय मिलाइसकेको अवस्थामा लोकसेवाको परीक्षाबाट भाग्न नहुने बताउँदै आएका छन् ।
गत शुक्रबार मन्त्रालयमा छलफल गर्न पुगेका आन्दोलनरत नर्सहरुले निर्देशक डा पुकार चन्द्र श्रेष्ठलाई घेरा हालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पछि आक्रोशित नर्सहरुले नर्सिङ संघको भुमिका फितलो भएको भन्दै केन्द्रीय कार्यालयमै तालाबन्दी गरिदिएका हुन् ।
‘अन्तराष्ट्रिय नर्सिङ दिवस आउँदैछ । हामी आजबाट नै सप्ताहव्यापी कार्यक्रम गर्दैथ्यौँ तर ताला लागेको रहेछ । विहान प्रहरीको सहयोगमा हामीले ताला फुटाइदियौँ । अहिले भने आन्दोलनरत नर्सका प्रतिनिधिसहित समाधानका उपायबारे छलफल चलिरहेको छ,’ संघका उपाध्यक्ष अप्सरा पाण्डेले भनिन् ।
उनीहरुले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर थप बार्ता गर्ने तयारी रहेको समेत जानकारी दिइन ।
सम्पर्क इमेल : [email protected]